उपाधिसाथ दुम्सीडाँडा टोलको भलिबल टिम ।

हेटौँडाः हेटौँडा–११ मा आयोजित टोलस्तरीय भलिबल प्रतियोगिताको उपाधि दुम्सीडाँडा टोलले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा कृष्ण मन्दिर टोललाई ३–० को सोझो सेटमा पराजित गर्दै दुम्सीडाँडा टोलले उपाधि जितेको हो ।

सातौं संस्करणको उपाधि विजेता दुम्सीडाँडा टोल विकास संस्थाले नगद ३० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपाविजेता कृष्ण मन्दिर टोलले २० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमीफाइनलमा पराजित भएका सूर्योदय टोल र तल्लोताल टोलले ५÷५ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा ६ वटा टोलको सहभागिता रहेको थियो ।

खेलकुद विकास समितिका संयोजक प्रभाकर पुडासैनीको अध्यक्षता तथा वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी दुम्सीडाँडाका निश्चल राना मगर घोषित भए । यस्तै उत्कृष्ट स्पाइकर कृष्ण मन्दिर टोलका राजेश घिमिरे, उत्कृष्ट ब्लकर सूर्योदय टोलका असिम श्रेष्ठ, उत्कृष्ट डिफेन्डर दुम्सीडाँडा टोलका संगीत परियार र उत्कृष्ट लिफ्टरमा दुम्सीडाँडा टोलकै सुशान्त आले मगर घोषित भए । उत्कृष्ट खेलाडीले ट्रफी प्राप्त गरेका छन् ।