मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई बजार अनुगमन गर्दै ।

हेटौंडाः स्थानीय प्रशासनको अगुवाईमा भएको अनुगमनको क्रममा हेटौंडा बजारका २ वटा पसल कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा बुधबार भएको अनुगमनमा अनुज्ञा पत्र नभएको र म्याद नाघेका सामग्रीहरू विक्री गर्ने २ वटा पसललाई नगद ६० हजार जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

अनुगमन टोलीले ५ वटा पसलको अनुगमन गरेकोमा २ वटा पसलबाट म्याद नाघेका ९४ हजार ६ सय ५ रुपैयाँ बराबरको सामान नष्ट समेत गरेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई, आन्तरिक राजश्व कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, हेटांैडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले हेटौंडा बजार क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरेको हो । चाडपर्व लागेसँगै सम्बन्धित निकायले अनुगमनलाई तिब्रता दिँदै आएको छ ।