हेटौंडाः हेटौंडाका बजारमा तिहारको रौनक देखिन थालेको छ । बजारका पसलहरुमा प्लास्टिकका रंगीचंगी माला, घर सजावटका सामग्री, माटाका पालाहरु र सप्तरंगी रंगहरु बेच्न राखिएको छ ।
व्यावसायिक भवन र आवासीय भवनमा समेत झिलिमीली बत्ती बाल्न थालिएको छ । नेपालीहरुले तिहारलाई फुल र उज्यालो पर्वको रुपमा मनाउने गरेका छन् । तिहार दशैं पछिको ठूलो पर्व हो । व्यवसायीले उपभोक्ता आकर्षित गर्न पसल सजिसजाउ गरे पनि बजारमा उपभोक्ताको उपस्थिति र कारोबार भने न्यून छ । यस वर्ष कार्तिक २५ गतेदेखि २९ गतेसम्म तिहार परेको छ । तिहार पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरू छन् ।
सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।