हेटौँडाः हेटौँडा–११, नवलपुरमा सातौं संस्करणको टोलस्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो । मंगलबार बिहान वडा अध्यक्ष जुना दाहालले प्रतियोगिताको उद्घाटन गर्नुभयो । ६ वटा टोल विकास संस्थाको सहभागिता रहेको प्रतियोगिताको संयोजन गत वर्षको विजेता सूर्योदय टोल विकास संस्थाले गरिरहेको छ ।

प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । वैदेशिक रोजगारीका कारण युवा विदेशिएसँगै प्रतियोगिता सहभागी हुने टिम घट्दै गएको वडा खेलकुद विकास समितिका संयोजक प्रभाकर पुडासैनीको भनाइ छ ।

२३ वटा टोल विकास संस्था रहेको ११ नम्बर वडामा भलिबल प्रतियोगितामा भने ६ वटा टिमको मात्रै सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । भलिबल प्रतियोगिताका लागि वडाले एक लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेका छ ।