हेटौंडाः भूकम्प पीडितहरूको राहत, उद्दारका लागि बागमती प्रदेश सरकारमातहत कार्यरत कर्मचारीहरुले आर्थिक सहयोग गर्ने भएका छन् । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको बैठकले गत शुक्रबार गएको भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितहरूको सहयोगका लागि प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले १ करोड २५ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हो ।
बैठकले भूकम्पबाट प्रभावितलाई राहत तथा पुनःस्थापनाका लागि बागमती प्रदेश अन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवम् सो सरहका पदाधिकारीको ३ दिनको तलब, अधिकृतस्तरका कर्मचारीको २ दिनको तलब र अन्य सबै कर्मचारीको १ दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचिव उपाध्यायले जानकारी दिनुभयो । उक्त रकम सङ्कलन गरी कर्णाली प्रदेश सरकारको खातामा जम्मा गरिने उहाँले बताउनुभयो ।