हेटौँडाः अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभा हेटौँडामा बिहिबार हुँदैछ । साधारणसभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङमाथि अविश्वासको प्रस्तावमाथि पनि छलफल र मतदान हुनेछ । साधारणसभाअघि हेटौँडामै एन्फाको केन्द्रिय समितिको बैठक समेत हुने एन्फा केन्द्रिय समिति सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिनुभएको छ ।
एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिको समेत उपस्थिति रहने साधारणसभामा देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधि सहभागी हुनेछन् । मंगलबारदेखि नै केन्द्रिय समितिका पदाधिकारीहरु हेटौँडा आउन थालिसकेको जानकारी दिनुहुँदै एन्फा केन्द्रिय सदस्य लामाले बुधबारसम्ममा सबै प्रतिनिधि आइसक्ने बताउनुभएको छ । साधारणसभामा ए, बी र सी डिभिजन क्लबबाट पनि प्रतिनिधि सहभागी हुनेछन् ।