हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाले पालिकाभर र पालिकाको स्वास्थ्य संस्थाले रेफर गरे रेफर भएर जाने सम्बन्धित स्वास्थ्य संस्थासम्मका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनलाई प्रभावकारी गराउन सूचित गरेको छ । निशूल्क भनिएको सेवामा एम्बुलेन्स रकम असुली गरिएको भन्ने गुनासो आएको भन्दै गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कैलाश गाउँपालिकाले गाउँपालिकाका बासिन्दाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी २ वटा एम्बुलेन्स सञ्चालन गर्दै आएको जनाएको छ ।
कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जारी गर्नुभएको सूचनामा कैलाश गाउँपालिकाले “स्वस्थ आमा, स्वस्थ शिशु” कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्य समस्या समधानका लागि दुईवटा एम्बुलेन्स सञ्चालन गरेको जनाएको छ । कैलाश गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण यादवका अनुसार गाउँपालिकाका बासिन्दाहरुलाई उपचारको क्रममा पालिका भित्र तथा स्वास्थ्य संस्थाले रिफर गरे अनुसार गाउँपालिका बाहिर लैजान परे एम्बुलेन्सले निःशुल्क सेवा दिने गरेको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को कार्ययोजना अन्तर्गत बर्थिङ सेन्टरपछि गर्भवती तथा सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको यादवले बताउनुभयो । कैलाश गाउँपालिकाले एम्बुलेन्स चालकलाई हरेक गर्भवती तथा सुत्केरी महिलाहरुको सूचि बनाइदिएको र चालकले फोन आए अनिवार्य उठाउनु पर्ने यादवले बताउनुभयो ।