हेटौँडाः ओपनर व्याट्सम्यान सस्तैमा आउट भएर कमजोर सुरुवात गरेको नेपालले टि–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको फाइनल खेलमा ओमान विरुद्ध उत्कृष्ट व्याटिङ प्रस्तुत गरेको छ । कप्तान रोहित पौडेल र गुल्सन झाको उत्कृष्ट साझेदारीसँगै नेपालले ओमान सामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।
गुल्सन झा २५ बलको सामना गर्दै ४ छक्का र ५ चौकाको मद्दतले ५४ रन जोडेर आउट भए । यस्तै कप्तान रोहित पौडेलले पनि अविजित रहँदै ३७ बल खेलेर २ छक्का, ५ चौकासहित ५२ रन बनाए । रोहित र गुल्सनले ७ ओभरमा ७८ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई खेल फर्काउँदै उच्च स्कोरतर्फ उन्मुख गराए ।
त्रिवि क्रिकेट मैदानमा आइतबार बिहान टस जितेर व्याटिङ थालेको नेपालले १५ रन जोडेर पहिलो विकेटमा आसिफ शेखलाई गुमाएको थियो । दोस्रो विकेटको रुपमा सन्दिप जोरालाई ४७ रनमा गुमाएको नेपाल मध्यक्रममा कमजोर देखिएको थियो । ७ ओभर १ बलमा ४९ रन जोड्दा नेपालले अर्का ओपनर कुशल भुर्तेललाई पनि गुमाउन पुग्यो । चौथो विकेटको रुपमा कुशल मल्ल आउट हुँदा नेपालले १० ओभरमा ६० रन मात्रै जोडेको थियो । बाँकी १० ओभरमा नेपालले १ सय २४ रन जोड्न सफल भयो । करण केसीले पनि ६ बलमा २० रन जोडे ।
ओमानले जवाफी व्याटिङ सुरु गरेको छ । समूह चरणमा व्यहोरेको हारको बदला लिँदै ओमान विरुद्ध जित निकाल्दै नेपालले टि–२० विश्वकप अन्तर्गत एसिायली छनोट प्रतियोगिताको उपाधि जित्ने योजनामा छ ।