हेटौँडा–४, कर्रास्थित श्रमिक मावि परीक्षा केन्द्रमा अध्यापन अनुमतिपत्रको परीक्षा दिँदै परीक्षार्थी । फाइल तस्वीर ।

हेटौँडाः निमावि अध्यापन अनुमतिपत्र परीक्षामा मकवानपुरका परीक्षा केन्द्रमा दुई हजार चार सय ६८ जना अनुपस्थित भएका छन् । शनिबार हेटौँडाका विभिन्न १४ वटा विद्यालयमा कायम गरिएको २५ वटा परीक्षा केन्द्रमा तीन हजार आठ सय ९७ जना परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

हेटौँडाका परीक्षा केन्द्रमा अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुने परीक्षार्थीको संख्या छ हजार तीन सय ९५ जना थियो । आवेदन दिएका मध्ये ठूलो संख्यामा अनुपस्थित भएका हुन् । शनिबार दिउँसो १ बजेदेखि २ बजेसम्म एक घण्टा परीक्षा भएको थियो । परीक्षाका लागि हेटौँडा–१ स्थित अमर मावि, हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस, सिद्धार्थ मावि, बालजागृति इंग्लिस सेकेण्डरी स्कुल, हेटौँडा–४ स्थित भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, श्रमिक मावि, हेटौँडा क्याम्पस, हेटौँडा–५ स्थित बालज्योति मावि, जीएस निकेतन मावि, हेटौँडा–१० स्थित ज्ञानदा मावि, तुल्सीमेहर मेमोरियल इंग्लिस बोर्डिङ स्कूल, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, हेटौँडा–११ स्थित त्रिभुवन माविमा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।