सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुर, चितवन र नुवाकोटमा विभिन्न सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कात्तिक ३ गते शुक्रबारदेखि १० गतेसम्म ५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा बुधबार साँझ स्कुटर दुर्घटना भएको थियो ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०२–०२७ प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ ५ बजेर ४० मिनेटको समयमा जुरिखेतमा सडकबाट अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका–२७, महावौद्धकी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनमा परी घाइते भएकी थापाको उपचारको क्रममा हेटौँडा अस्पतालमा बुधबार साँझ ७ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थापाका श्रीमान् स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, पुर्व–पश्चिम सडकखण्डस्थित हेटौँडा–१५, रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज महानगरपालिका–३०, विश्रामपुर बस्ने १८ वर्षीय सहचालक विपिन महतो रहेको प्रहरी जनाएको छ । बिहिबार बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्बरको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा दुर्घटना भएको थियो । दुर्घटनामा महतो घाइते भएका थिए । घाइते महतोलाई उपचारका लागि हेटौंडा अस्पताल लागिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । चालक लालपर्सा बस्ने ३० वर्षीय दशरथ पासवान भने सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–१, बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ का ३४ वर्षीय सुमन लामा रहेको प्रहरी जानकारी दिएको छ । शुक्रबार भैँसेबाट हेटौँडा आउँदै गरेको ना १७ प २१८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक लामाको हेटौँडा अस्पतालमा उपचारको क्रममा शुक्रबार बेलुका ९ बजेर २५ मिनेटमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने ३० वर्षीय रोमन बस्नेत घाइते भएका छन् । घाइते बस्नेतको बायाँ खुट्टा र च्यापुमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी जानकारी दिएको छ । घाइते बस्नेतको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–७, लामिटारमा मोटरसाइकल दुर्घटना हुँदा बागमती गाउँपालिका–६, ठाडोखोलाका २२ वर्षीय सन्तोष दर्लामीको मृत्यु भएको छ । बुधबार साँझ ८ बजेर ४० मिनेटको समयमा लामिटारमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका सन्तोषको उपचारको क्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा शुक्रबार राती १० बजेर ३० मिनेटको समयमा मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

बागमती गाउँपालिकाको झुरझुरेबाट हेटौँडातर्फ जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार बागमती गाउँपालिका–६, ठाडीखोलाका २२ वर्षीय प्रदीप लोप्चन भने सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै, चितवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहिबार राती खैरहनी नगरपालिका–१ बहेरा चोकको पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५, का २३ वर्षीय आनन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख २३५४ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा रहेको छ ।

यस्तै, नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७, बुद्धसिङघाटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार ५० वर्षीया साबित्रा अधिकारी रहेको प्रहरी जानकारी दिएको छ । बिहीबार बिहान ११ बजेर ४५ मिनेटको समयमा त्रिशुलीबाट काठमाण्डौ जादै गरेको बा ४ ख ५७९३ नम्बरको बसले तारुकाबाट बिदुर आउँदै गरेको बा प्र ०३–००४ प ९२१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक २३ वर्षीय अर्जुन अधिकारी र साबित्रा दुवै गम्भिर घाईते भइएका थिए । घाइते दु्वैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा साबित्राको उपचारको क्रममा मृत्यु भएको थियो । घाइते अर्जुनलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरेको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियंत्रणमा लिएको छ ।