हेटौंडाः प्रदेशको विभिन्न जिल्लामा भएको विभिन्न घटनामा ११ जनाको मृत्यु भएको छ । चाडपर्वको बेलामा कात्तिक ३ गतेदेखि ११ गतेसम्म विभिन्न घटनामा प्रदेशको मकवानपुरसहित धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, चितवन र काभ्रेपलान्चोकमा ११ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा एक वृद्धको भीरबाट लडेर मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा भीमफेदी गाउँपालिका–३, बेसारघारीका ७० वर्षीय गणेश बहादुर स्याङ्तानको घर नजिकै घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
धादिङ जिल्लाको गजुरी गाउँपालिका–६ राम्चेमा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ सिद्धलेख गाउँपालिका–७ भैसे घर भई हाल गजुरी गाउँपालिका–६ राम्चे बस्ने ३२ वर्षीया रिता भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । भुजेल ८ गते बुधबार बिहान १० बजे खाना खाएर सुतेकोमा दिउँसो ४ बजेर ४५ मिनेटकोे समयमा सुतेकै अवस्थामा मृत फेला परेकी थिईन् । अनुसन्धानको क्रममा भुजेल पहिलैदेखि दमको बिरामी भई औषधी सेवन गर्दै आएको प्रहरीले जनाएको छ ।
यस्तै, धादिङ जिल्लाको गल्छी गाउँपालिका–४, चरौदीस्थित त्रिशुली नदीमा एकजना महिलाको शव फेला परेको छ । ११ गते शनिबार दिउँसो २ बजेर ४० मिनेटको समयमा सनाखत नभएको अन्दाजी ४० वर्षीया महिलाको शव तुईनको तारमा अड्किएको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
यस्तै, सिन्धुपाल्चोकको ईन्द्रावति गाउँपालिका–१२ पौवास्थित भित्री सडकखण्डको नालिमा ८ गते बुधबार एकजना पुरुष मृत फेला परेको छ । मृत फेला पर्नेमा ईन्द्रवती गाउँपालिका–७ पोखरे का ३३ वर्षीय सागर बिक रहेको प्रहरीले जनाकारी दिएको छ । अनुसन्धानका क्रममा बिक मंगलबार दिउँसो २ बजेको समयमा काठमाडौंबाट सिन्धुपाल्चोक हिँडेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।
यस्तै, नुवाकोट जिल्लाको बिदुर नगरपालिका–५ पिपलटारमा एकजना पुरुष मृत फेला परेका छन् । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल बिदुर नगरपालिका–५ मा लेवर काम गर्ने ५० वर्षीय सुका काजी कुमाल बुधबार आफ्नै डेरामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी टोली खटी गई अनुसन्धान गर्दा कुमाल जन्डिसको विरामी र सधै मादकपदार्थ सेवन गर्ने गरेको पाइएको छ ।
यस्तै, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ ढाडफेदीमा खोला तर्ने क्रममा चिप्लेर लड्दा एकजना वृद्धको मृत्यु भएको छ । ६ गते बिहान ११ बजेर ४५ मिनेटको समयमा ७५ वर्षीय बुद्धवीर तामाङ खोला तर्ने क्रममा चिप्लेर लड्दा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । यस्तै, चितवनको भरतपुर महानगरपालिका–२२, बोटेटोलस्थित राप्ती खोलाले बगाई बेपत्ता भएका एक जना पुरुष मृत फेला परेका छन । मृत फेला पर्नेमा सोही स्थान बस्ने ३८ वर्षीय राजन बोटे रहेको प्रहरी जानकारी दिएको छ ।
बोटे ९ गते बिहान १० बजेर ३० मिनेटको समयमा राप्तीखोलामा नुहाउने क्रममा नदिले बगाई बेपत्ता भएका थिए । बोटेको शव घटनास्थलबाट १५ मिटर तल राप्ती नदिमा फेला परेका प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको प्रहरीले जनाएको छ । यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–३ बेलचोकमा आश्रममा आश्रित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय बुद्धि बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङ भदौ २४ गतेदेखि आश्रममा बस्दै आएकोमा ४ गते बिहान ७ बजेर ४५ मिनेटको समयमा सुतेका ठाउँमा नै मृत फेला परेका थिए ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० भाटभटेनीमा ४ गते दिउँसो १ बजेर ३५ मिनेटको समयमा ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका थिए । अनुसन्धानको क्रममा मगरले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । यस्तै, चितवनकोे भरतपुर महानगरपालिकाको १ नम्बर वडा कार्यालय भवन पछाडि नारायणी नदिमा एकजना पुरुष व्यक्तिको शव फेला परेको छ । ११ गते शनिबार दिउँसो २ बजेर २० मिनेटको समयमा सनाखत नभएको अन्दाजी ६५ वर्षीय पुरुष व्यक्तिको शव नारायणी नदिको तिरमा तैरिरहेको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यस्तै काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौरस्थित आश्रममा आश्रित वृद्धाको मृत्यु भएको छ । ११ गते शनिबार साँझ ६ बजेको समयमा मानव कल्याण आश्रममा बस्दै आएकी ६७ वर्षीया राममाया नगरकोटीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । नगरकोटीको सुतिरहेको अवस्थामा ओछ्यानमै मृत्यु भएको हो । मुचुल्का पश्चात महिलाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।