सांकेतिक तस्वीर ।

हेटौंडाः तास खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जना शुक्रबार छुटेका छन् । मकवानपुर प्रहरीले उनीहरुलाई बिहिबार नियन्त्रणमा लिएको थियो । बिहिबार साँझ साढे ५ बजेको समयमा हेटौंडा–७ स्थित गोकुलनाथ पौडेलको घरमा तास खेलिरहेको उनीहरु प्रहरीले पक्राउ गरेको थियो ।

तास खेलिरहेका अवस्थामा हेटौंडा–८ का अजय खड्का, मन्दीप पौडेल, रोहित कुमार केसी, भरत तितुङ, हेटौंडा–७ का रुपक चौलागाई, वीरेन्द्र खत्री, सविन चौलागाई, गोकुलनाथ पौडेल र हेटौंडा–१५ का ओम घलानलाई प्रहरीले पक्राउ गरेको हो । तासको खालबाट प्रहरीले ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ नगदसहित तास खेलिरहेको स्थानबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले सरकारी वकिलको सहमतिमा हाजिरी जमानीमा छाडेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ । प्रहरीले कानुनमा भएको व्यवस्थाअनुसार नै हाजिरी जमानीमा छाडेको उहाँको भनाइ थियो । अनुसन्धान अधिकृत वा सरकारी वकिलले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार नै छाडिएको उल्लेख गर्नुहुँदै मुद्दा प्रमुख जिल्ला अधिकारी समक्ष पेश हुने प्रवक्ता भण्डारीले बताउनुभएको छ ।