गुगल तस्विर ।

हेटौँडाः शनिबार राती त्रिभुवन राजपथअन्तर्गत सिमराचोकमा बस दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

शनिबार राती १० बजेको समयमा चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस दुर्घटना हुँदा भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई हाल पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–७ बस्ने २७ वर्षीय मुकेश साहको मृत्यु भएको छ ।

दुर्घटनामा परी बारा जिल्लाको कलैया उपमहानगरपालिका–२० का ४५ को वीर बहादुर महतो र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–८ का ३० वर्षीय सुरज साह कानुको अवस्था गम्भीर रहेको छ । दुवैजनाको टाउको र छातीमा चोट लागेको छ ।

यस्तै पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–८ की १८ वर्षीया प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह, वीरगन्ज–१२ का २३ वर्षीया सेजल गुरूङ, बीरगन्ज–८ का ५२ वर्षीय ललन चौरसिया, वीरगन्ज–१२ का २७ वर्षीय राजन कुमार गुप्ता, वीरगन्ज–८ का २८ वर्षीय मोहन साह कानु, बारा जिल्लाको कलैया–७ का १८ वर्षीय प्रसाद गुप्ता, ३५ वर्षीय अविनाश गुप्ता र जितपुर–सिमरा उपमहानगरपालिका–२ का १९ वर्षीय अनिष राई घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।