दोस्रो संस्करणको हेटौँडा साइकल रनको उपाधि आशिष थापा मगरलाई प्रदान गर्नुहुँदै जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलान ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको समन्वयमा भएको दोस्रो संस्करणको हेटौंडा साइकल रन २०८० को उपाधि हेटौंडा–६ का आशिष थापा मगरले जितेका छन् । हेटौंडामा शनिबार बिहान भएको प्रतियोगितामा सहभागी ३९ जनामध्ये आशिषले निर्धारित २२ किलोमिटरको दूरी पार गर्दै प्रथम हुन सफल भएका हुन् ।

प्रतियोगितामा हेटौंडा–६ कै हरेराम राई द्वितीय, हेटौंडा–२ का विबै सिं मोक्तान तृतीय भएका छन् । प्रतियोगितामा प्रोत्साहन हेटौंडा–४ का राजिव ठाकुर र प्रदिप थापाले प्राप्त गरेका छन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी भएका ठाकुर र थापाले प्रोत्साहन पुरस्कार स्वरुप जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी ७ जना महिला साइक्लिस्टलाई प्रोत्साहनस्वरुप जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको साईकल रन कान्तिलोकपथ शिवम सिमेन्ट रोड, हेटौंडा–फापरवारी सडक, नागश्वती, कमाने, गर्दोही हुँदै हुप्रचौरमै फर्किएर टुंगिएको थियो ।

पुरस्कृत भएपछि सामूहिक तस्वीर खिचाउँदै हेटौँडा साइकल रनमा सहभागीहरु ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, वडाध्यक्षहरु सविन न्यौपाने, दीपक खड्का, नगर खेलकुद विकास समितिमा निवर्तमान अध्यक्ष चन्द्र शाही, मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठ, हिमालयन राइडर्स क्लबका अध्यक्ष राम श्रेष्ठको आतिथ्य रहेको थियो । उपमहानगरपालिकाले गत वर्षबाट हेटौँडा साइकल रन आयोजना गर्न सुरु गरेको हो ।