फाइनल प्रवेश गरेको नारायणी कलेजको टिम ।

हेटौँडाः हेटौँडामा जारी २१ औँ स्व. लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुल्ला रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधिका लागि हेटौँडा–१० स्थित नारायणी कलेज र हेटौँडा–११ स्थित छहारी युवा क्लबबीच भिडन्त हुने भएको छ । शनिबार बिहान सम्पन्न सेमीफाइनल खेलमा थाहा नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै नारायणी कलेजले फाइनलमा स्थान बनाएको छ भने छहारीले आग्रा स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

पहिलो सेटमा २१–२५ ले पछि परेको नारायणी कलेजले दोस्रो सेटमा थाहा नगरपालिकालाई २५–२१ ले पछि पार्न सफल भयो । तेस्रो सेट थाहा नगरले २५–२० ले आफ्नो पक्षमा पार्दा चौथो सेट नारायणी कलेजले २५–२० ले नै आफ्नो पक्षमा पारेको थियो । चार सेटको खेल सकिँदा २–२ को बराबरी थियो । पाँचौं तथा अन्तिम सेटमा नारायणीले १५–१० ले थाहा नगरपालिकालाई पराजित गरेसँगै उपाधि होडमा अगाडि बढेको हो ।

शनिबार बिहान भएको पहिलो सेमीफाइनल खेलमा हेटौँडा–११ को छहारी युवा क्लबले आग्रा स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–१७ ले गुमाएको आग्राले दोस्रो सेटमा २०–२५ ले पुनरागमन गरेको थियो । तर, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१६ ले गुमाएपछि आग्राको उपाधि होड अन्त्य भएको हो ।

प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधी विजेता टिमले ६० हजार रुपैयाँ र उपविजेता टिमले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि मायाको चिनो र प्रमाण–पत्रको व्यवस्था गरिएको छ ।