बी के महर्जन
हेटौँडा उपमहानगरपालिकाको शहरी योजना महाशाखा प्रमुखको जिम्मेवारीमा बसी करिव २० बर्ष सेवा गरेको पूर्वकर्मचारी तथा हिमाल, तराई, पहाडका विभिन्न जिल्लाका नगर तथा गाउँपालिकाको ५० औं आवधिक योजना तर्जुमा कार्यलाई टिम लिडरको सहजीकरण गरिसकेको एक शहरी योजना तथा विकास व्यवस्थापनको अभ्यासी र हाल हेटौँडा वडा नं. २ को स्थायी वासिन्दाको हैसियतमा हेटौँडा उपमहानगरपालिकाले दोश्रो आवधिक योजना निर्माण गर्न सुरु गर्न लागेकोमा खुसी हुने मध्येमा पर्दछु ।
जनप्रतिनिधिको अभावको अवस्थामा पनि हेटौँडाले प्रणालीगत विकासको मार्ग अबलम्वन गर्नुपर्छ भनेर हेटौँडाले तत्कालिन नगरपालिकाको अवस्थामा पनि वृहत (ग्रेटर) हेटौँडाको परिकल्पनासहित आर्थिक वर्ष २०६८/०६९ देखि आर्थिक वर्ष २०७२/०७३ का लागि पहिलो पञ्चवर्षीय आवधिक योजना, यातायात गुरुयोजना र भूउपयोग योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको थियो । प्रारम्भिक अभिमुखीकरण र वृहत सरोकारवालाहरुको सहभागितामा वृहत छलफल पश्चात सरसफाई र वातावरणीय स्वच्छता सहितको आवासीय शहर, गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार र सृजनशील जनशक्ति उत्पादन र व्यावसायिक र औद्योगिक विकासको माध्यमबाट समृद्धितर्फको यात्रासहित विकासका अग्रणी क्षेत्रको प्रतिनिधित्व गर्न “स्वच्छ, सृजनशील र समृद्ध औद्योगिक हेटौँडा” को दीर्घकालिन सोच र तत्कालिन परिवेशमा छिमेकमा रहेका साविक हटिया, हर्नामाडी, चुरियामाई, पदमपोखरी र वसामाडी गाविस समेतलाई समेट्ने गरी वृहत्तर हेटौँडा सहितको हेटौँडा उपमहानगरपालिकाको आवधिक लक्ष्यसहित पहिलो आवधिक योजना तर्जुमा भई कार्यान्वयनमा ल्याइएको थियो ।
राज्यको पुनर्संरचना अन्तर्गत सात प्रदेश र ७५३ स्थानीय तहसहित संघीय शासन प्रणाली र एकल र अन्तर्गत सात प्रदेश, राज्यशक्तिको बाँडफाँड अन्तर्गत तीन तहको सरकार बीच सहअस्तित्व, समन्वय र सहकार्यको सिद्धान्तको आधारमा २२ एकल तथा १५ साझा अधिकारको कार्यान्वयनका लागि विधायिकी, कार्यपालिका र सीमित न्याय सम्पादनसहितको अधिकार प्राप्त गरेको अहिलेको हेटौँडा उपमहानगरपालिका, वागमती प्रदेशको राजधानी हेटौँडाको दोश्रो आवधिक योजना निर्माणको क्रममा पहिलो आवधिक योजना तर्जुमा कार्यका लागि समयमा शहरी योजना, अनुसन्धान तथा वातावरण महाशाखा प्रमुखको हैसियतमा नगरपालिकाको तर्फबाट नेतृत्व गरेको एक शहरी योजना तथा विकास व्यवस्थापन क्षेत्रको अभ्यासीको हैसियतमा मेरो सहभागिता वा ज्ञान, सीप र अुनभवको प्रयोगको लागि उपमहानगरपालिकाले आवश्यकता महसुस नगरेको अवस्थाबीच असोज २० गते हेटौँडा उपमहानगरपालिकाको दोश्रो आवधिक योजना तर्जुमाको क्रममा दीर्घकालिन सोच निर्धारण कार्यशाला गोष्ठी आयोजना भएको बारेमा सामाजिक सञ्जालमार्फत जानकारीमा आएकोले यस सम्बन्धमा मेरा केही अवधारणाहरु आम नगरवासी, राजनीतिक दल, वुद्धिजिवी, नागरिक समाज, उद्येगी व्यवसायी, सञ्चार जगत समेतमा सम्प्रेषण गर्ने जमर्काे गरेको छु ।
क) दिर्घकालिन सोचलाई हेर्ने दृष्टिकोणः
दीर्घकालिन सोच (सर्वप्रथम दीर्घकालिन सोच भनेको दीर्घ लक्ष्य हो, अर्थात २० देखि २५ वर्षमा करिव ४ देखि ५ वटा आवधिक योजनाको सफल कार्यान्वयन पश्चात प्राप्त हुने प्रभाव तहको नतिजा हो । त्यसका लागि स्थानीय विकासका ५ वटा विषयक्षेत्र जसमा आर्थिक विकास, सामाजिक विकास, भौतिक विकास, वन, वातावरण र विपद् व्यवस्थापन र सुशासन र संस्थागत विकास जस्ता क्षेत्रहरुले आवधिक रुपमा तय् गर्ने लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीति अन्तर्गत संचालन गरिने कार्यक्रम र परियोजनाहरुको कार्यान्वयन पश्चात प्राप्त हुने नतिजा हो ।
नेपालको सन्दर्भमा १५ औं योजना मार्फत विसं २१०० का लागि “समृद्ध नेपाल, सुखी नेपाली” को दीर्घकालिन लक्ष्य तय गरिएको छ । जसका लागि विसं २०७८ सम्ममा प्रतिव्यक्ति आय करिव १३ सय अमेरिकी डलरसहित अल्पविकसितबाट विकासशील देशको रुपमा स्तरोन्नति, विसं २०८७ सम्ममा दिगो विकासल लक्ष्य प्राप्तिसहित करिव ४५ सय अमेरिकन डलरसहित मध्यम आय भएको देशको रुपमा स्तरोन्नति र १९ औं योजनाको अन्तसम्म अर्थात विसं २१०० सम्ममा करिव १२ हजार अमेरिकी डलर प्रतिव्यक्ति आयसहित उच्च आयसहितको समृद्ध नेपालको विकासको खाकासहित दीर्घकालिन लक्ष्य निर्धारण भएको छ ।
यसैगरी वागमती प्रदेशले पनि विसं २१०० सम्ममा “सुसंस्कृत र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेश” को दीर्घकालिन लक्ष्यसहित सुसंस्कार, सुख र समृद्धिका आधारहरुसहित उच्च उत्पादन, मर्यादित जीवन, समावेशी, सभ्य न्यायपूर्ण सुशासनयुक्त आधुनिक समाजको निर्माणको आवधिक लक्ष्यसहित काम गरिरहेको अवस्था छ ।
ख) दीर्घकालिन सोच परिवर्तन वा परिमार्जनः
सामान्यतया देशले वा सरकारले तय गरेको दीर्घकालिन सोच परिवर्तन वा परिमार्जन गरिँदैन । बरु आवधिक योजनाहरुका आवधिक लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीति अन्तर्गत बनेका नीति, कार्यक्रम र बजेट त्यसतर्फ लक्षित गर्ने गरिन्छ । तर विशेष परिवेश वा परिस्थिति सृजना भएको अवस्थामा वृहत्तर हित तथा सरोकारवालाहरु समेतको सर्वसहमतिमा दीर्घकालिन सोचमा समसामयिक परिमार्जन गरी लक्ष्य र रणनीतिमा परिमार्जन गर्ने गरिएको उदाहरणहरु पाइन्छ ।
हेटौँडा उपमहानगरपालिकाको सन्दर्भमा सम्भवत आर्थिक वर्ष २०८१/०८२ देखि आर्थिक वर्ष २०८५/०८६ सम्मका लागि बन्न लागेको दोश्रो आवधिक योजनाले सर्वप्रथम प्रथम आवधिक योजना आर्थिक वर्ष २०६८/०६९ देखि आर्थिक वर्ष २०७२/०७३ ले आत्मसात गरेको “स्वच्छ, सृजनशील र समृद्ध औद्योगिक हेटौँडा” को दीर्घकालिन सोच के कुन पृष्ठभूमि वा धरातलमा बसेर तय गरिएको हो, सोको वस्तुगत ढंगबाट समिक्षा हुनु आवश्यक छ । यस योजनाको समाप्तिपछिको ८ वर्ष हेटौँडा उपमहानगरपालिकाले दोश्रो आवधिक योजना बिना वार्षिक योजनाको भरमा नगरपालिकाको विकास निर्माणलाई निरन्तरता दिएको देखिन्छ ।
वागमती प्रदेशको एक मात्र उपमहानगरपालिका अझ प्रदेश राजधानी रहेको उपमहानगरपालिकासँग आवधिक योजना छैन भनेको सुन्दा एक नगरवासीको हैसियतमा नमिठो त लाग्छ नै । ढिलै भएपनि दोश्रो आवधिक योजना तर्जुमा भइरहेको र दीर्घकालिन सोच निर्धारण गोष्ठी सञ्चालन भइरहेको सन्दर्भमा केही जिज्ञासाहरु उठ्न सक्छ, के हेटौँडाले पर्यावरणीय स्वच्छता, हरियालीकरण, सरसफाईयुक्त शहरको आधारशिलाबाट बाहिर जान खोजेको हो ? गुणस्तरीय शिक्षा, शैक्षिक हव र सृजनशीलताबाट पछि हट्न खोजेको हो ? के हेटौँडा उद्यमशीलता, औद्योगीकरण, व्यापार व्यवसायको प्रवद्र्धन र विकासको लक्ष्यबाट बाहिर जान खोजेको हो ? यदि होइन भने पहिलो आवधिक योजनाले आत्मसात गरेका दीर्घकालिन सोच आजको दिनमा पनि त्यतिकै औचित्यपूण र सान्दर्भिक देखिन्छ ।
यसर्थ ढिलै भए पनि सुरु भएको दोश्रो आवधिक योजनाले वागमती प्रदेशको एकमात्र उपमहानगरपालिका र प्रदेश राजधानीको हैसियतमा प्रदेश राजधानीलाई के कसरी व्यवस्थित, आधारभूत तथा अत्याधुनिक पूर्वाधार सुविधाको निर्माण र स्तरवृद्धि, पहुचमार्गमा सुधार, स्वच्छता सहितको आवासीय आकर्षण, उत्पादनशील तथा सेवामूलक उद्योगको प्रवद्र्धन र विकाससहित सभा समारोहजन्य पर्यटन जस्ता क्षेत्रमा लगानी वृद्धिसहित समृद्ध नगरको आधारिशीला तयार गरी तिव्र आर्थिक वृद्धिको लक्ष्यसहित अगाडि बढ्नु नै आजको आवश्यकता हो ।
(महर्जन शहरी योजना तथा विकास व्यवस्थापन विज्ञ हुनुहुन्छ ।)