हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० को समीक्षा यही असोज २६ गते गर्ने भएको छ ।
उपमहानगरपालिकाले महाशाखा तथा शाखागत वार्षिक प्रतिवेदन तयार पारेर समीक्षा गर्न लागेको हो । हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले मंगलबार उपमहानगरका सबै महाशाखालाई वार्षिक समीक्षाका लागि तयारी गर्न निर्देशन दिनुभएको छ ।
गत आर्थिक वर्षमा महाशाखा तथा शाखाबाट सम्पादन भएका कार्यहरु, असल अभ्यास, प्रवाह भएका सेवा, गत आर्थिक वर्ष वर्षको नीति तथा कार्यक्रमहरुको कार्यान्वयनको अवस्था एवम् समस्या र समाधानका उपायसहित प्रस्तुती गर्ने गरी असोज २३ गतेभित्र प्रतिवेदन तयार पार्न प्रमुख प्रशासकीय अधिकृत चौलागाईले निर्देशन दिनुभएको छ ।
हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्षको ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँको बजेट बनाएको थियो । गत आर्थिक वर्षमा उपमहानगरले १ अर्ब ७० करोड ७२ लाख रुपैयाँ राजश्व परिचालन गरेको जनाएको छ भने चालुतर्फ एक अर्ब सात करोड ६६ लाख रुपैयाँ र पुँजीगततर्फ ७० करोड ८९ लाख रुपैयाँ मात्रै खर्च गर्न सफल भएको चालु आर्थिक वर्षको बजेट प्रस्तुतीको क्रममा उल्लेख गरिएको थियो ।