बुद्धिचाल प्रतियोगितामा सहभागी हुँदै दुइ शिक्षक ।

हेटौँडाः संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) हेटौँडा उपमहानगर समितिको आयोजनामा विद्यालयका शिक्षक, कर्मचारीबीच नगरस्तरीय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को राष्ट्रिय समितिका उपाध्यक्ष दीपक गौतमको प्रमुख आतिथ्यता भएको हो ।

हेटौँडा–५ स्थित जिएस निकेतन माविमा भइरहेको प्रतियोगितामा १५ वटा विद्यालयबाट शिक्षक र कर्मचारी गरी २१ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ५ हजार रूपैयाँ, द्वितीय हुनेले ३ हजार रूपैयाँ र तृतीय हुनेले २ हजार रूपैयाँ तथा सान्त्वना हुनेले एक हजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको इस्टु हेटौँडा उपमहानगर समितिका अध्यक्ष नवीन मिश्रले जानकारी दिनुभएको छ । आजै सम्पन्न हुने प्रतियोगिता आयोजनाका लागि करिब ४० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।