हेटौंडाः स्थानीयस्तरमा सञ्चालनमा रहेको खानेपानी आयोजनाबाट दैनिक जीवनयापनका लागि महँगो शुल्कमा पानीको प्रयोग गर्दै आएका हेटौंडा–१८, बड्कुलेका बासिन्दाले निःशुल्क खानेपानी पाउने भएका छन् ।
२०५८ सालबाट सञ्चालन भएको मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत् खानेपानीको प्रयोग गर्दै आएका बड्कुलेका १०४ घरधुरीले १० हजार लिटर पानीको प्रयोगबापत् ६ सय ५० रुपैयाँ तिर्दै आएका थिए । ‘कर्मचारी, विद्युत् र मर्मत शुल्क गरेर खानेपानीको लागत महँगो पर्दै आएको थियो’, समितिका अध्यक्ष राजेन्द्र घलानले भन्नुभयो, “समितिले ४ हजार लिटर पानी उपभोग गरेवापत् २ सय ५० रुपैयाँ न्यूनतम शुल्क लिँदै आएका थियो ।”
महँगो शुल्कमा पानीको उपभोग गर्दै आएका स्थानीयलाई नियमित पानी दिन समितिलाई आर्थिक भार परेका कारण १८ नम्बर वडा कार्यालयमार्फत् खानेपानीको महशुल भुक्तान गर्ने गरिएको थियो । बिहीबार उक्त खानेपानी योजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । बोर्डलाई हस्तान्तरण गरेसँगै बड्कुलेबासीले १० हजार लिटरसम्म पानी निःशुल्क पाउने भएका छन् । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रमा खानेपानी बोर्डमार्फत् जडित धाराबाट पानीको उपभोग गर्नेलाई १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराएसँगै उनीहरुले पानी निःशुल्क पाउने भएका हुन् । तोकिएभन्दा बढि पानी उपभोग गरेमात्र महशुल लाग्ने छ ।
बोर्डमा हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नगरबासीलाई पानीको सुविधा सहज तुल्याउने उद्देश्यअनुरुप काम भइरहेको बताउनुभयो । सरकार भएको अनुभूति दिलाउँदै नागरिकलाई दायित्वबोध गराउँदै जिम्मेवारी दिने तयारी अनुसार अघि बढिरहेको उहाँको भनाइ थियो । नगरबासीले धारामा आएको पानी सोझै प्रयोग गर्ने वातावरण बनाउने तयारीमा रहेको भन्दै उहाँले खानेपानीको उचित व्यवस्थापनसँगै आर्थिकरुपमा कमजोर भए पनि विकासको काममा जोड दिँदै अघि बढेको बताउनुभयो ।
हर्नामाडी क्षेत्रमा उपभोक्ता समितिले सञ्चालन गरेको ३ वटा योजना बोर्डमा हस्तान्तरण भइसकेको छ भने अहिले २५ हजार घरधुरीले बोर्डमार्फत् खानेपानीको प्रयोग गर्दै आएको छ । मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र घलानको अध्यक्षतामा भएको सो कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, हेटौंडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार डा. कृष्ण धिताल र बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटालगायतको आतिथ्य रहेको थियो ।