हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले नगर अस्पताल सञ्चालनका लागि मेडिकल अधिकृत नियुक्त गर्ने भएको छ । हेटौँडा–१७, हटियास्थित स्वास्थ्य चौकी र हेटौँडा–१३ स्थित स्वास्थ्य चौकीमा खटिने गरी दुइजना मेडिकल अधिकृत नियुक्त गर्न बुधबार दरखास्त आव्हान गरिएको छ । गत आर्थिक वर्षदेखि नै उपमहानगरले नगर अस्पताल सञ्चालन गर्ने योजना बनाए पनि कार्यान्वयन गर्न सकेको थिएन ।
चालु आर्थिक वर्षमा भने नगर अस्पताल सञ्चालन गर्ने गरी मेडिकल अधिकृत नियुक्तिका लागि दरखास्त आव्हान गरिएको हेटौँडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख लक्ष्मीनारायण भगतले जानकारी दिनुभयो । मेडिकल अधिकृतको नेतृत्वमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको उपमहानगरपालिकाले आवश्यक स्टाफ नर्स २ जना, एक जना ल्याव टेक्निसियन र अहेव एकजना पनि नियुक्त गर्ने भएको छ । साविक हटिया गाविस र पदमपोखरी गाविसको स्वास्थ्य चौकी भवनमा नै सञ्चालित स्वास्थ्य चौकीहरुको भौतिक पूर्वाधार निर्माणमा भने उपमहानगरपालिकाले आवश्यक काम गर्न सकेको छैन ।