हेटौंडा: संघीय सरकार र नेपाल शिक्षक महासंघबीच सहमतिपछि आज आइतबारबाट देशैभरका विद्यालयहरुमा नियमित पठनपाठन सुचारु भएको छ । संघीय सरकारले संसदमा दर्ता गरेको शिक्षासम्बन्धी विधेयकमा भएको व्यवस्थाप्रति विरोध गर्दै आन्दोलित शिक्षकका कारण गत साता विद्यालयमा पढाई रोकिएको थियो ।
शुक्रबार संघीय सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएपछि शिक्षकहरु विद्यालय फर्किएका हुन् । पठनपाठन रोकेर आन्दोलनमा सहभागी भएको भन्दै शिक्षकहरुको चर्को आलोचना भएको थियो । शिक्षकले भने आन्दोलनका प्रभावित पढाइलाई सार्वजनिक बिदाको दिनमा समेत पठनपाठन गरी सट्टाभर्ना गरिने जनाएका छन् ।
मकवानपुर जिल्लाका विद्यालयमा पनि पठनपाठन सुचारु भएको छ । हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा ९० प्रतिशत विद्यार्थी र शिक्षकहरुको उपस्थिति रहेको प्रधानाध्यापक रामसागर गुरागाईले बताउनुभएको छ ।