हेटौंडाः राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९ सय ६२ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली मंगलबार सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको नामावलीमा मकवानपुरका ६ जना नेपाल विद्याभूषण ‘क’बाट र २ जना नेपाल विद्याभूषण ‘ख’बाट विभूषित हुने भएका छन् ।
२०७४ सालमा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका निरञ्जन देवकोटा, २०७८ सालमा त्रिभुवन विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि गरेका प्रेमकृष्ण अर्याल, सन् २०१९ मा मेवार विश्वविद्यालय भारतबाट समाजशास्त्र विषयमा विद्यावारिधि गरेका कृष्णप्रसाद धिताल, सन् २०१८ मा काङवन राष्ट्रिय विश्वविद्यालय दक्षिण कोरियाबाट हर्टिकल्चर विषयमा विद्यावारिधि गरेका रामेश्वर राई, २०७९ सालमा काठमाडौं विश्वविद्यालयबाट शिक्षाशास्त्र विषयमा विद्यावारिधि गरेका अमृता शर्मा र सन् २०१८ मा कलकत्ता विश्वविद्यालय भारतबाट भौतिक शास्त्र विषयमा विद्यावारिधि गरेका श्रीराम नगरकोटी नेपाल विद्याभूषण ‘क’बाट विभूषित हुनुहुने भएको हो । यसैगरी, २०७६ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा शिक्षा शास्त्र संकायअन्तर्गत् उच्चतम तहको ग्रेड प्वाइन्ट प्राप्त गरी प्रथम हुनुभएका सुजन काफ्ले र २०७६ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातकोत्तर तहमा वन विज्ञान संकायअन्तर्गत् उच्चतम ग्रेड प्राप्त गर्नुभएका टंकनारायण श्रेष्ठ नेपाल विद्याभूषण ‘ख’बाट विभूषित हुनुहुने भएको छ ।
यसपटक ९ सय ५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिँदैछ । त्यसमध्ये ७ सय ९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई नेपाल विद्याभूषण ख र ४४ जनालाई नेपाल विद्याभूषण ग प्रदान गरिनेछ । साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिँदैछ । जसमा नेपाल छात्रा विद्यापदक ‘क’ २८ जनलाई र ‘ख’ १८ जनालाई प्रदान गरिनेछ । यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।