हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई सार्वजनिक विश्वविद्यालय बनाउने सहमति भएको छ । आइतबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, क्याम्पस व्यवस्थापन समिति, राजनैतिक दलका प्रतिनिधिहरुको बैठकमा मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने सहमति भएको हो ।

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैको सल्लाह सुझावअनुसार निर्णय गरेमा प्रदेश सरकारले मकवानपुर बहुमुखी क्याम्सलाई विश्वविद्यालय बनाउने कुरालाई अगाडि बढाउने बताउनुभयो । सार्वजनिक विश्वविद्यालयको रुपमा प्रदेश सरकारले नयाँ ढङ्गबाट विश्वविद्यालय बनाउन सक्ने उहाँले बताउनुभयो ।

यसअघि बागमती प्रदेशमा प्रदेश विश्वविद्यालय स्थापना गर्न प्रदेश सरकारलाई प्रदेश उच्च शिक्षा परिषद् समितिले प्रस्ताव गरेको थियो । सो अन्तर्गत् रहेर मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा छलफल भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको संयोजनमा प्रदेश उच्च शिक्षा परिषद् समिति गठन भएको छ । प्रदेश विश्वविद्यालय स्थापनाका लागि विज्ञ समूह गठन भएको थियो । उक्त समूहले ऐनमा भएबमोजिमको प्रतिवेदन तयार पारी प्रदेश उच्च शिक्षा परिषद् समितिसमक्ष मंगलबार पेश गरेको हो । प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन प्रमाणीकरण २०७८ चैत १४ मा गरिसकेको छ ।