हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । शुक्रबार पहिलो चरणअन्तर्गत् ४ खेल सम्पन्न भएसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको आयोजक कोन्ज्योसोम अनलाइन टिभीका सञ्चालक सोयल लामाले जानकारी दिनुभयो ।
बकैया–८ स्थित बङ्दा खोलमैदानमा शुक्रबार भएको पहिलो खेलमा उच्चशिखर बकैया–५ ले भालुखोला युनाइटेडलाई ३–१ गोलको अन्तरले हराएको छ । दोस्रो खेलमा जीवनज्योति क्लबले बागमती–४, झुजुरलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।
यस्तै, तेस्रो खेलमा बस्तीपुर फुटबल क्लबले त्रिवेणी हात्तीसुँडेलाई हराएको छ । निर्धारित खेल समय ३–३ गोलको बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेक्र पनि बराबरी भएपछि खेलको नतिजा सडेनडेथमा लिइएको थियो । सडेनडेथ सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । बस्तीपुरले त्रिवेणीलाई ९–८ गोलले हराएको हो ।
चौथो खेलमा ज्यामिरे, बागमती–५ ले राई समाज हात्तीसुँडे, बकैया–३ लाई ६–० गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगिताअन्तर्गत् शनिबारबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुने प्रतियोगिताका संयोजक लामाले जानकारी दिनुभएको छ । प्रतियोगिताको फाइनल खेल असोज १ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।