हेटौँडाः हेटौँडा–१३, पदमपोखरीमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । शुक्रबार बिहान बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
प्रहरी चौकीको भवन उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीहरुले पनि सोही अनुरुप अन्तर्राष्ट्रिय तहको विज्ञान प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताउनुभएको छ । मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरुलाई अत्याधुनिक उपकरणयुक्त प्रविधिमैत्री बनाउँदै लैजाने बताउनुहुँदै प्रहरीको क्षमतालाई गुणात्मक ढंगले बृद्धि गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले देशका प्रहरीहरुलाई नागरिकमैत्री बनाउने कुरामा लागिरहेका बताउँदै नागरिकहरु पनि प्रहरीमैत्री बन्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी भवन तयार हुनु खुसीको कुरा भएको भन्दै नागरिक र प्रहरीले समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री मोक्तानले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि पहल भैरहेको बताउनुभयो ।
बागमती प्रदेश सरकारको २ करोड २६ लाख १५ हजार रुपैयाँ बजेटमा १ कठ्ठा ९ धुर क्षेत्रफलमा महिला पुरुष अलग अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवाससहित ३ तल्ले प्रहरी चौकीको भवन निर्माण भएको छ । उद्घाटन कार्यक्रममा चौकी निर्माणमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, मन्त्रालयका उपसचिव दिपक प्रसाद न्यौपाने, प्रहरी नायव महानिरीक्षक किरण राणा, वडाअध्यक्ष पेमा लामा, मकवानपुर प्रहरी प्रमुख सिताराम रिजाललगायतको उपस्थिति रहेको थियो ।