कार्यक्रमको तस्वीर ।

हेटौँडाः मकवानपुर बहुमुखी क्याम्पसको १७ औं क्याम्पस सभा सुरु भएको छ । क्याम्पस सभाले नयाँ सञ्चालक समिति चयन गर्नेछ । शुक्रबार बिहान क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षता तथा क्याम्पस सभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यमा क्याम्पस सभाको उद्घाटन कार्यक्रम भएको थियो ।

उद्घाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलले क्याम्पसको वस्तुस्थिति, उपलब्धी र भावी योजनाका बारेमा बताउनुभएको थियो । ६ हजार भन्दा बढी विद्यार्थी अध्ययन गर्ने क्याम्पसका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुँदै अध्यक्ष पौडेलले जिल्लाका १० वटै स्थानीय तहले क्याम्पसप्रति अपनत्व ग्रहण गर्ने संलग्नता गराउन विधान संशोधनको प्रक्रिया जारी रहेको बताउनुभयो । विभिन्न समयमा स्नातक तहमा उत्कृष्ट नतीजा हासिल गर्दै मकवानपुर क्याम्पसका विद्यार्थीले गरिमा बढाएको उहाँले बताउनुभयो ।

उद्घाटन समारोहमा संघीय संसदको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंह, संघीय सांसद महेशकुमार बर्तौला, राष्ट्रिय सभा सदस्य गोमा तिमिल्सना, रामचन्द्र राई, बागमती प्रदेश सभा सदस्यहरु एका लाल श्रेष्ठ, प्रेम बहादुर पुलामीको पनि आतिथ्य रहेको थियो ।