हेटौँडाः हेटौँडा–१ स्थित सञ्चो हस्पिटलको वार्डमा भर्ना भएर उपचार गरिरहेका विरामीको बुधबार बिहान नियमित स्वास्थ्य परीक्षण तथा परामर्शमा व्यस्त रहीरहेका बेला सांघातिक आक्रमणमा परेका जनरल फिजिसियन डा. विकास थापाले जिल्ला छाडेका छन् । बिहिबार बिहान ८ बजे डा. थापा परिवारसहित काठमाडौं जानुभएको छ ।
सांघातिक आक्रमणमा परी घाइते हुनुभएका डा. थापाले थप उपचारका लागि भन्दै हेटौँडा अस्पतालबाट रेफर लिएर काठमाडौं जानुभएको छ । परिवारसहित बिहिबार दिउँसो डा. थापा काठमाडौं पुगिसक्नुभएको छ । एक महिनाअघि डेंगु संक्रमित हेटौँडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर प्रधानको परिवारसहितको एक समूहले डा. थापा र एनेस्थेसिया डा. प्रशान्त विडारीमाथि आक्रमण गरेका थिए । डेंगु संक्रमित प्रधानलाई सञ्चो हस्पिटलले थप उपचारका लागि चितवन रेफर गरेको थियो । उपचारको क्रममा चितवनस्थित चितवन मेडिकल कलेजमा प्रधानको मृत्यु भएको थियो ।
गण्डकी प्रदेशको कास्की जिल्ला घर भएका डा. थापा ९ वर्षदेखि हेटौंडामा कार्यरत हुनुहुन्थ्यो । करिब ५ वर्ष चुरेहिल हस्पिटलमा काम गर्नुभएका डा. थापा सञ्चो हस्पिटल स्थापनाकालदेखि नै हस्पिटलको प्रमुख डाक्टरको रुपमा कार्यरत हुनुहुन्थयो । डा. थापाले तत्काल नियमित काममा फर्कने अवस्था नरहेको उल्लेख गर्नुहुँदै परिवारसँग सल्लाह गरेर निर्णय लिने बताउनुभयो । बिहिबार दिउँसो समृद्ध समाजसँग कुरा गर्नुहुँदै डा. थापाले भन्नुभयो, “केही समय नियमित काममा हुन्न । त्यही अस्पतालमा काम गर्ने कि नगर्ने, हेटौँडामै बस्ने कि नबस्ने भन्ने विषय पनि परिवारसँग सल्लाह गरेर निर्णय लिन्छु ।”
डा. थापा र डा. विडारीमाथि भएको आक्रमणको विषयलाई लिएर राष्ट्रियरुपमै तीव्र विरोध भइरहेको छ । दोषीलाई कारवाही गर्न सर्वत्र दबाव सिर्जना भएको छ । डाक्टरमाथि सांघातिक आक्रमण गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । आक्रमणमा संलग्न थप व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।