हेटौँडाः हेटौँडा–१ स्थित सञ्चो हस्पिटलमा बुधबार बिहान विरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन डा. विकास थापा र एनेस्थेसिया डा. प्रशान्त विडारीमाथि सांघातिक आक्रमण गर्ने थप २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बिहिबार बिहान २ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने थप २ जनालाई दिउँसो पक्राउ गरेको छ ।
मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालका अनुसार चिकित्सकमाथि आक्रमण गर्ने हेटौँडा–१२ की रमा प्रधान र रमिला प्रधानलाई घरबाटै प्रहरीले बिहिबार बिहान पक्राउ गरेको हो । यस्तै प्रहरीले बिहिबार दिउँसो १९ वर्षीय रोहन प्रधान र २५ वर्षीय अनुप प्रधानलाई हेटौँडा–१० बाट पक्राउ गरेको छ ।
एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै डाक्टरमाथि आक्रामक भएको हो । डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीले पक्राउ गरेको रमा मृतकको श्रीमति हुन् भने रमिला मृतकको छोरी हुन् । यस्तै रोहन मृतकको छोरा तथा अनुप मृतकको भतिज हो ।
चिकित्सकमाथि आक्रमण गर्ने अन्य व्यक्तिको खोजी कार्य भइरहेको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिनुभएको छ । प्रहरीले हस्पिटलको सीसीटिभी फुटेज ल्याएर आक्रमणकारी पहिचान गरी खोजी कार्य सुरु गरेको जनाएको छ । बुधबार अबेरसम्म प्रहरी प्रमुख रिजाल चिकित्सकमाथि आक्रमणको घटनालाई सहमतिमा टुंग्याउने तयारीमा थिए । आफ्नै कार्यकक्षमा आक्रमणकारी र पीडित चिकित्सकलाई राखेर प्रहरी प्रमुख रिजाल चिकित्सकमाथि सांघातिक आक्रमणको घटनालाई मिलाउने प्रयासमा थिए । पीडित चिकित्सकलाई काट्छु र मार्छु भन्दा पनि प्रहरी प्रमुखले पीडित चिकित्सकको पक्षमा नभई पीडकको पक्षमा सहमतिको प्रयास गरिरहेका थिए ।
सुरक्षाको व्यवस्था हुनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै हेटौँडाका सबै चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । स्थानीयस्तरमै घटनाको चर्चा भइरहँदा प्रहरी र प्रशासनले घटना मिलाउने प्रयासमा थियो भने राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमै घटनाको विरोध हुँदै सरकारको आलोचना हुन थालेपछि स्थानीय प्रशासन र प्रहरी दबाबमा आएपछि दोषीलाई पक्राउ गर्नतर्फ अग्रसर भएको हो । बुधबार बिहान १५ जना भन्दा बढीको संख्यामा एक समूहले अस्पतालमै पुगेर चिकित्सकमाथि आक्रमण गरेका थिए ।