हेटौंडाः हेटौंडामा आगामी असोज ६ गते र ७ गते नगरस्तरीय शिक्षक–कर्मचारी खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता हुने भएको छ । प्रतियोगिता संस्थागत विद्यालय शिक्षक युनियन हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा हेटौंडा–५, स्थित जीएस निकेतन माविमा हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ४ हजार, तृतीय हुनेलाई ३ हजार प्रदान गरिनेछ भने सान्त्वना पुरस्कारको पनि व्यवस्था रहेको छ । चेस प्रतियोगितामा सहभागी हुनका लागि बुधबारदेखि नाम दर्ता खुला गरिएको छ । सहभागी दर्ता गर्न ५ सय रुपैयाँ लाग्ने युनियन अध्यक्ष नवीनकुमार मिश्रले बताउनुभयो ।

उहाँका अनुसार चेस प्रतियोगितामा सहभागीहरुलाई खाजा र खानाको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न लगभग ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष मिश्रले बताउनुभयो ।