हेटौंडाः हेटौंडा अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्ने बिरामीको प्रतीक्षा सूची २०८३ सम्म पूरा भएको छ । अस्पतालको शल्यक्रिया विभागमा आएका बिरामीमध्ये शल्यक्रिया गर्नुपर्ने बिरामीको सूची २०८३ सम्मका लागि पूरा भइसकेको हेटौंडा अस्पतालका शल्यक्रिया चिकित्सक डा. विनयकुमार शाहले जानकारी दिनुभयो ।
डा. शाहले अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्ने एउटामात्र मेसिन भएको र जनशक्ति अभावका कारण समस्या आइरहेको बताउनुभयो । अस्पतालमा पित्तथैलीको शल्यक्रिया सोमबार र बिहीबार गर्ने गरिन्छ । हेटौंडा अस्पतालमा सोमबार र बिहीबार एक–एक जनाको मात्र पित्तथैलीको शल्यक्रिया गर्न सकिने अवस्था रहेको उहाँको भनाइ छ । अस्पतालमा बिरामीको धेरै चाप भएको समयमा एकैदिन दुईजनाको शल्यक्रिया गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
“बिरामीलाई २०८३ सम्म शल्यक्रिया गर्दा धेरै समस्या पर्दैन” डा. शाहले भन्नुभयो– “बिरामीलाई यदि अत्यन्तै गाह्रो या पेट दुख्यो भने हामीले तत्काल शल्यक्रिया गर्ने गरेका छौं ।” अस्पतालको शल्यक्रिया विभागमा दैनिक एक सयदेखि ११० जनासम्म बिरामी आउने गरेका छन् । बिरामी धेरै पेट दुखेर आउने डा. शाहले बताउनुभयो । आएका बिरामीमध्ये धेरै २० देखि ४० उमेरसम्मका हुने गरेका छन् । पेट दुख्नेबाहेकका बिरामीमा पत्थरी, प्रोस्टेट, चोटपटक, गिर्खा, सिस्ट, स्तनमा बोसो आदि समस्या देखिने डा. शाहले बताउनुभयो ।
हेटौंडा अस्पतालमा जनरल सर्जन डा. निराजन श्रेठ, डा. प्रकाश शाह, डा. निश्चल खनाल गरी ३ जना हुनुहुन्छ । बिरामीअनुसार रोग हेरी शल्यक्रिया गर्नुपर्ने वा औषधी खानुपर्ने डा. शाहले बताउनुभयो । अस्पतालले बीमा भएका बिरामीलाई पुरानो मेडिकल कलेजमा रिफर गर्ने गरेको छ भने ग्रामीण भेगबाट हेटौंडा अस्पतालमा रिफर भएर बिरामी आउने गरेका छन् ।