‘एक पटक लड्दैमा जीवन सकिँदैन, लडेर उठ्नु नै जीवन हो ।’ यस्ता भनाइले मानिसलाई असफलतासँग डटेर जीवन जिउनलाई प्रेरणा दिन्छ । कसैको जीवन बचाउनु छ भने उसमा आशा जगाउनै पर्छ । जब मानिसले सबैतिर निराशाको अवस्था देख्छ, तब ऊ आत्महत्याको लागि अग्रसर हुनसक्छ । मानिसमा आशाको सञ्चार गरेरै आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । यसका साथै, आत्महत्या न्यूनीकरणका लागि सचेतना पनि उत्तिकै आवश्यक हुन्छ । आम मानिसलाई आत्महत्याको नकारात्मक पक्षबारे सचेत गराउने र आत्महत्या न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्वभर आत्महत्या रोकथाम दिवस मनाइन्छ । सन् २००३ देखि मनाउन थालिएको यो दिवस यस वर्ष भदौ २४ गते परेको छ । अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संगठनले विश्व स्वास्थ्य संगठन तथा विश्व मानसिक स्वास्थ्य संगठनसँग मिलेर यो दिवस मनाउन थालेको हो । यस वर्ष विश्व स्वास्थ्य संगठनले आत्महत्या रोकथाम दिवसको नारा ‘आत्महत्या रोकथामका लागि सचेतना’ तय गरेको छ ।
आफूले आफैंलाई मार्नु आत्महत्या हो । आफैंले विशेष प्रयत्न गरेर आफैंलाई समाप्त गर्नु वा जानीजानी आफैं मर्नु आत्महत्या हो । आत्महत्या अहिले विश्वभर जटिल समस्या बन्दै गएको छ । विश्वमा एक वर्षमा मृत्यु हुनेमध्ये १.५ प्रतिशत छ भने नेपालमा करिब ३ गुणा बढी अर्थात् करिब ५ प्रतिशत छ । विश्वमा वार्षिक करिब ८ लाख ५० हजारको मृत्युको कारण आत्महत्या हुने गर्दछ भने नेपालमा आत्महत्याबाट वार्षिक करिब ८ हजारले ज्यान गुमाउने गरेका छन् । यस हिसाबले विश्वमा सरदर ३७ सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको पाइन्छ भने नेपालमा प्रत्येक घण्टा एक जनाले आत्महत्या गर्ने गरेको पाइन्छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मको ५ वर्षमा ३१ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । पछिल्लो दुई आर्थिक वर्ष आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा क्रमशः ७ हजार १४१ र ६ हजार ८३० वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएको तथ्यांक छ ।
मानिसले आत्महत्या गर्नुको पछाडि धेरै कारण हुन्छन् । यस्ता कारणहरु समयमै पहिचान गर्न सकिएमा धेरैजसो आत्महत्या रोकथाम गर्न सकिने मनोवैज्ञानिकहरु बताउँछन् । आत्महत्याको मनस्थिति बनाएको हरेक मानिसले केही पूर्वसंकेत देखाउने गर्दछन्, जसमा आत्महत्याका विचारहरु समावेश हुन्छन् । मानिसको त्यस्तो संकेतलाई पहिचान गर्न सकिएमा साइकोथेरापी, औषधि वा अन्य उपचार सेवाबाट आत्महत्या गर्नसक्ने जोखिम कम गर्न सकिने मनोचिकित्सकहरुको भनाइ छ । धेरैजसो आत्महत्याका पछाडि मनोसामाजिक कारणहरु वा मानसिक समस्याहरु जोडिएका हुन्छन् । मानिस कस्तो सामाजिक समूहमा हुर्किएको बढेको वा संगतमा रहेको छ भन्ने कुराले पनि उसको मानसिकता निर्धारण हुने गर्दछ । कुनै व्यक्तिले आफूलाई हरेक अवस्थामा सहयोगी किसिमको सामाजिक समूह नभएको महसुस गरेमा ऊ आत्महत्यातर्फ अग्रसर हुनसक्छ । मानिसको आर्थिक स्थिति कमजोर हुँदै जाँदा पनि आत्महत्या गर्नसक्छ भने सम्बन्धमा समस्या आउँदा, कुनै विशेष काम वा घटनामा सफल नहुँदा र एक्लो जीवन बिताउनुपर्दासमेत आत्महत्याको विचार आउने गर्दछ ।
जुनसुकै कारणले आत्महत्या गर्ने भए पनि यो व्यक्ति, परिवार, समाज, देश र विश्वकै लागि एउटा जटिल समस्या हो । आत्महत्याको प्रभाव आत्महत्या गर्ने व्यक्तिको परिबारमा सबैभन्दा बढी पर्दछ । मर्ने मरेर गए पनि बाँचेका आश्रित वा अभिभावकमा त्यसको पीडा अकल्पनीय हुने गर्दछ । यसैले आत्महत्या गर्ने अवस्थामा पुगेको वा पुग्नसक्ने मानिसका साथी वा आफन्त यसप्रति बढी सचेत हुनुपर्छ । विभिन्न समस्यामा परेका वा मनोसामाजिक समस्या भएका व्यक्तिको कुरा सुनिदिएर उसलाई बुझ्ने कोसिसमात्र गर्दा पनि आत्महत्याको जोखिम निकै कम हुनसक्छ । यसका साथै घर–परिवार, गाउँ–समाजमा आत्महत्याबारे खुलेर कुराकानी गर्नु आवश्यक छ । यस्ता कुराकानी आत्महत्यालाई निरुत्साहित गर्ने किसिमको हुनुपर्छ, जसले कुनै व्यक्तिमा आउनेसक्ने आत्महत्याको सोचलाई एउटा दानवीय सोच हो भनेर बुझ्न सकोस् । वर्षमा एक दिनमात्र आत्महत्या रोकथाम दिवस मनाउनेमात्र नभई वर्षभरि नै आत्महत्याको बारेमा सचेत गराउने कार्यलाई निरन्तरता दिनु आवश्यक छ ।











