कुनै बेला ‘रिफर अस्पताल’को रुपमा चिनिएको हेटौंडा अस्पतालको अवस्था अहिले धेरै सुधार भइसकेको छ । अस्पतालको भौतिक विकाससँगै सेवा सुविधा वृद्धि भएपछि अहिले अधिकांश रोगको उपचार हेटौंडामा नै सम्भव भइसकेको छ । हेटौंडा अस्पतालले विशेषज्ञ चिकित्सकसहित विभिन्न रोगको उपचार सेवा थप गर्दै लगेका कारण अस्पतालप्रति आम सर्वसाधारणको विश्वास पनि बढ्दै गएको छ । अस्पतालको भौतिक पूर्वाधार थप, सेवा विस्तार, विशेषज्ञ चिकित्सकको व्यवस्था, आवश्यक उपकरणको सुविधा, उपचारका नयाँ प्रविधिको उपलब्धतासँगै बिरामीको चाप पनि बढ्दै गएको छ । बागमती प्रदेश सरकारअन्तर्गत्को मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको मेडिकल कलेजको रुपमा हेटौंडा अस्पताललाई सञ्चालन गरिएपछि यसको भौतिक विकास तथा सेवा विस्तार भइरहेको छ । तर, अझै हेटौंडा अस्पतालमा कतिपय रोगको उपचारका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था र सबै विभागमा पर्याप्त जनशक्तिको व्यवस्था हुन सकेको छैन ।

अस्पतालको फिजियोथेरापी विभागका थप जनशक्तिको टड्कारो आवश्यकता देखिएको छ । फिजियोथेरापी विभागले जनशक्तिको अभावले बिरामीलाई सहज सेवा दिन नसकिरहेको पाइएको छ । दैनिक ४० जनासम्म बिरामी फिजियोथेरापीका लागि अस्पतालमा आउने गरेको भए पनि उक्त विभागमा एक जना फिजियोथेरापिस्ट र एक जना सहयोगी गरी दुई जना जनशक्तिको मात्र व्यवस्था रहेको बताइएको छ । अस्पतालको फिजियोथेरापी विभागमा ढाड दुखेर, पाखुरा सुन्निएर, घुँडा दुखेर फिजियोथेरापी गराउन आउने बिरामीको संख्या उल्लेख्य रहने गर्दछ । यस्तै, घुँडा खिएका, हात तथा खुट्टाका जोर्नी भाँचिएका, बाथ रोग लागेका, पैताला तथा कुर्कुच्चा दुखेका बिरामीसमेत फिजियोथेरापीका लागि आउने गरेका छन् । वृद्धवृद्धादेखि बालबालिकासम्म फिजियोथेरापीका लागि अस्पतालमा सेवा लिन आउने गरेको भए पनि जनशक्ति अभावका कारण समस्या भएको बताइएको हो । अस्पतालमा फिजियोथेरापी सेवाका लागि आवश्यक उपकरण भए पनि पर्याप्त जनशक्ति नहुँदा सेवाग्राहीले सहज उपचार पाउन सकेका छैनन् । फलस्वरुप सेवाग्राही महंगो शुल्क तिरेर निजी अस्पतालमा फिजियोथेरापी गराउन बाध्य हुनु परिरहेको छ ।

विगतमा जिल्ला अस्पतालको रुपमा रहेको हेटौंडा अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गर्ने निर्णय तथा प्रयास भएको भए पनि कार्यान्वयन हुन सकेको थिएन । स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा आउनुअघि अस्पतालको शैया बढाउने र केही विशेषज्ञसहित चिकित्सक दरबन्दी थप्नेबाहेक अस्पतालको सुधार र विकासमा उल्लेख्य काम हुन नसक्दा अस्पतालको सेवा सुविधा कमजोर थियो । विगतमा एक पटक हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गराउने प्रयत्न गरिएको भए पनि सफल भएको थिएन । हुन त हेटौंडामा प्रतिष्ठानको छुट्टै मेडिकल कलेज हुने हो र हेटौंडा अस्पताल पनि सुविधासम्पन्न बन्ने हो भने उपचार सेवामा थप सहजता हुने निश्चित छ । तर, प्रतिष्ठानले आफ्नो छुट्टै मेडिकल कलेज सञ्चालन गर्दा विगतमा जस्तै हेटौंडा अस्पताल उपेक्षित हुने सम्भावना पनि उत्तिकै भएकाले तत्कालका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमै सञ्चालन गर्दै उपचार सेवालाई सहज बनाउनु उचित हुनेछ ।

अस्पतालको भौतिक अवस्था अहिले निकै सबल देखिन्छ । नयाँ भवनबाट सेवा सञ्चालन भएसँगै अस्पतालमा शैया थप गर्न र हरेक रोगको छुट्टाछुट्टै विभाग बनाई उपचार सेवा दिन सहज भएको छ । साथै, पुरानो इमर्जेन्सी सेवा दिइँदै आएको भवन र फार्मेसी तथा टिकट काउन्टर भएको क्षेत्रमा अर्को भवन निर्माण भइरहेको हुँदा उक्त भवन निर्माण भइसकेपछि उपचार सेवा थप विस्तार गर्न अझ सजिलो हुनेछ । भवन र उपकरणसँगै जनशक्तिको उचित व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष हुन्छ । अस्पताललाई प्रदेश सरकारले उपलब्ध गराएको विभिन्न किसिमका एक सय ३० जना स्वास्थ्यकर्मी तथा कर्मचारीको छनौट प्रक्रिया चलिरहेको अवस्थामा फिजियोथेरापीलाई उपेक्षा गरिनुले अस्पताल प्रशासनले अस्पतालको लागि आवश्यक सबै खाले जनशक्ति व्यवस्थापनमा ध्यान नदिएको देखिन्छ । आगामी दिनमा अस्पतालमा उपचारका लागि आउने सबै खाले बिरामीको लागि उपचार सेवा सहज हुनेगरी सबै प्रकारका जनशक्ति व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ ।