पत्रकार सम्मेलन गर्नुहुँदै गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र पाडी व्यापारी (माथि) गाउँपालिकाले २३ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको पाडी मनहरी–१, चकरीमा किसानको गोठमा । (तल)

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकामा गत आर्थिक वर्षमा विपन्न, सशस्त्र द्वन्द्वका घाइते परिवार र वनकरियाका लागि पाडी वितरण कार्यक्रममा अनियमितता भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पालिकाको ध्यानाकर्षण गराएको छ । रास्वपाले पालिकालाई ध्यानाकर्षण गराउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानविन गर्न उजुरी दर्ता गराउने तयारी समेत गरेको छ । यता गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने अनियमितता भएको गुनासो आएकोले छानविन समिति बनाएर सम्झौताअनुसार काम नभएको भए व्यापारीसँग पैसा फिर्ता लिने बताउनुभएको छ ।

गत आर्थिक वर्षको अन्तिममा कोटेशनमार्फत एक सय आठ वटा पाडी वितरण गरिएको र पाडी वितरणमा अनियमितता भएको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीले खरिद गरिएको बिल भरपाई माग गर्दा २५ वटा पाडी खरिदको बिल भरपाई पालिकाले उपलब्ध नगराएको रास्वपाका क्षेत्रीय सभापति सञ्जीव पाठकले बताउनुभएको छ । “विपन्न परिवारका लागि भनेर खरिद गरिएको ८३ वटा पाडीको बिल दिइए पनि सशस्त्र द्वन्द्वका घाइते परिवारलाई वितरण गरिएको १५ वटा पाडी र वनकरियालाई वितरण गरिएको १० वटा पाडीको बिल भरपाई पालिकाले उपलब्ध गराएको छैन”, रास्वपा क्षेत्रीय सभापति सञ्जीव पाठकले भन्नुभयो, “८३ वटा पाडीको २३ हजार ५ सय रुपैयाँका दरले पालिकाले भुक्तानी गरेको छ भने २५ वटा पाडीको बिल गाउँपालिकाका कर्मचारीले हराएको भन्दै दिएको छैन ।” कोटेशनमार्फत तीनवटा फरक फरक फर्मको दरभाउ समावेश गरेको भए पनि तीनवटै फर्मको अक्षर एउटै भएकोले मिलेमतोमै बढी मूल्यमा खरिद गरिएको स्पष्ट हुने सभापति पाठकको भनाइ छ ।

पाडी ६० केजीदेखि ८० केजीसम्मको तौल भएको भनिए पनि अधिकांश पाडी ६० केजीभन्दा कम तौलको रहेको पाठकको दावी छ । रास्वपाले अनियमितताको आशंकामा सूचनाको हक प्रयोग गरेर पाडी खरिद प्रक्रियाको कागजपत्र हेरेको उहाँको भनाइ छ । गाउँपालिकाले वितरण गरेको पाडी व्यापारीले १२ हजार रुपैयाँदेखि १४ हजार रुपैयाँसम्ममा सहजै खरिद गर्न सकिने समेत बताएको पाठकले दावी गर्नुभयो । वनकरियालाई वितरण गरिएको पाडीको मूल्य ३० हजार रुपैयाँ र सशस्त्र द्वन्द्वका घाइते परिवारलाई वितरण गरिएको पाडीको मूल्य २७ हजार रुपैयाँका दरले भुक्तानी दिएको भन्ने बुझिएको पाठकले बताउनुभयो । पालिकामा अनियमितता भएको विषयमा अन्य राजनीतिक दललाई पनि ध्यानाकर्षण गराएको र ऐक्यवद्धता जनाउन आग्रह गरिएको पाठकले बताउनुभएको छ ।

यता गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बुधबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै टेण्डर नगरी कोटेशनबाट फास्ट ट्र्याकमा पाडी खरिद गरिएको बताउनुभयो । कुनै पाडीको वजन नपुगेको हुन सक्ने र सानो पाडीको फोटो खिचेर भ्रम छर्ने प्रयास भएको दावी उहाँको छ । आफूले व्यापारीलाई बोलाएर साँच्चै महंगो परेको हो कि साना पाडीको पनि ठूला पाडीको मूल्य लगाएको भनेर बुझेको अध्यक्ष कालाखेतीले बताउनुभयो । पत्रकार सम्मेलनमा पाडी उपलब्ध गराउने व्यापारीलाई समेत साथमै राख्नुभएका अध्यक्ष कालाखेतीले ठूलो पाडीको बढी मूल्य लिन र सानो पाडीको मूल्य थोरै लिन आग्रह गर्दा व्यापारी सहमत भएको उल्लेख गर्नुहुँदै व्यापारीहरु बढी पैसा फिर्ता गर्न सहमत भएको स्पष्ट पार्नुभयो ।

आफूले अनुगमन समिति बनाएर अनुगमन समितिले फरक देखाएको मूल्य व्यापारीबाट फिर्ता गराउने अध्यक्ष कालाखेतीले बताउनुभयो । पालिकाका कर्मचारी र व्यापारीको कुनै मिलेमतो भएको, एक रुपैयाँ मात्रै पनि तलमाथि गरेको रहेछ भने करारका कर्मचारीलाई तुरुन्तै हटाउने र स्थायी कर्मचारीको हाजिर रोकेर कारवाही गर्ने अध्यक्ष कालाखेतीले दावी गर्नुभएको छ । अनुगमन समितिले पाडीको वजन गरेर सम्झौताअनुसार भए नभएको हेर्ने उहाँले विश्वास दिलाउनुभएको छ । पत्रकार सम्मेलनमा मनहरी गाउँपालिकाका वडा अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।