हेटौंडाः नेपाल विजुली, प्लम्बर, तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल हेटौंडा उपमहानगर कमिटीको नवौँ अधिवेशन बुधबार हेटौँडामा सुरु भएको छ । अधिवेशनको उद्घाटन कार्यक्रमअघि मजदुरले र्याली निकालेका थिए । हेटौँडा–४, हुप्रचौरमा भेला भई कपुर कम्प्लेक्स, मेनरोड, बुद्धचोक, कान्तिलोकपथ, सानोपोखराचोक, राईटोल हुँदै हेटौंडा–५ स्थित पिप्ले–पोखरा सामुदायिक वन उपभोक्ता समुहको हलमा पुगेको थियो ।
क्युपेक नेपाल हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष खड्ग बहादुर गोलेको सभाअध्यक्षता तथा क्युपेक नेपाल केन्द्रीय कमिटी उपाध्यक्ष योगेन्द्र शर्माको प्रमुख अतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, केन्द्रिय कमिटी सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज हेम बहादुर श्रेष्ठ, केन्द्रिय सल्लाहकार राजु आचार्य, मकवानपुर जिल्ला कमिटी अध्यक्ष प्रल्हाद राई, पूर्वअध्यक्ष इन्द्र बहादुर कार्की, महिला कमिटी अध्यक्ष शर्मिला राई लगायत मजदुरहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि क्युपेक नेपाल केन्द्रिय उपाध्यक्ष योगेन्द्र शर्माले क्युपेक नेपाल समग्र मजदुरहरुको आवद्धता भएको साझा सङ्गठन रहेको जानकारी गराउँदै यो सङ्गठन अन्तर्राष्ट्रिय सङ्गठनसँग पनि आवद्ध भएको बताउनुभयो । मजदुरको हकहितका लागि देशका ७७ वटै जिल्लामा सङ्गठन विस्तार गरेको बताउँदै समयको परिवर्तनसँगै सङ्गठनलाई पनि परिवर्तन गर्न, सवल र सक्षम बनाउँदै लैजान आवश्यक रहेकोमा जोड दिनुभयो ।
सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम समग्र श्रमिक मजदुरहरुका लागि बनेको बताउँदै यस परियोजना प्रवेश गर्न सङ्गठनले विभिन्न बाधा र अवरोध पार गर्दै आएको बताउनुभयो । मजदुर श्रमिककै योगदानबाट देशमा विभिन्न परिवर्तनहरु आएकाले आफ्नो हकहितका लागि आफैँ बोल्न जरुरी रहेको उहाँको भनाइ रहेको छ । सङ्गठन निर्माण प्रक्रियालाई अगाडि बढाउन र मजबुत सङ्गठनको निर्माण गर्न जरुरी रहेकोमा शर्माले जोड दिनुभयो ।