बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयको संयुक्त भवन ।

हेटौंडाः बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका प्रादेशिक अस्पतालहरुका प्रमुखको जिम्मेवारी दिने क्रममा मन्त्रालयले मनोमानी गरेको पाइएको छ । मन्त्रालयले वरियताको आधारमा जिम्मेवारी दिने विषयमा बेवास्ता गरेको छ । प्रदेश मातहतका १३ अस्पतालमध्ये ४ अस्पतालका डाक्टरहरुले वरियताको आधारमा नभई मनोमानी हिसाबले अस्पताल प्रमुखको जिम्मेवारी दिइएको भन्दै डाक्टरहरुले गुनासो गरेका छन् ।

सिन्धुली अस्पताल, धादिङ अस्पताल, त्रिशुली अस्पताल र बकुलहर अस्पतालमा वरियताको आधारमा डाक्टरहरुले जिम्मेवारी दिइएको छैन । यी चार वटा अस्पतालमा अहिले आठौं तहका डाक्टरहरुले प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । नवौं तहका डाक्टर भएपनि आठौं तहका डाक्टरलाई नै प्रमुखको जिम्मेवारी दिएको भन्दै नवौं तहका डाक्टरहरुले गुनासो गर्न थालेका हुन् ।

त्रिशुली अस्पातलका नवौं तहका डाक्टर अच्युत पौडेलले प्रदेश सरकारले आफूलाई वरियताको आधारमा जिम्मेवारी नदिएको बताउनुभयो । प्रदेश लोकसेवा आयोगबाटै आएका नवौं तहका आफूलाई वरियताको आधारमा जिम्मेवारी नदिएको उहाँको भनाइ छ । दुई महिनाअगाडि मन्त्रालयले नै आफूहरुलाई केही दिनमै जिम्मेवारी मिलाउने गरी खटाए पनि अहिलेसम्म वरियताको आधारमा जिम्मेवारी नदिएको बताउनुभयो । यो कुरालाई मन्त्रालयका सचिवसँग राख्दा नेताहरुलाई भेटेर मिलाउनेजस्ता जवाफ दिएको उहाँले बताउनुभयो । त्रिशुलीमा अहिले आठौं तहका डाक्टरले प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।

यस्तै, सिन्धुली अस्पतालमा कार्यरत नवौं तहका डाक्टर अभिषेक थपलियाले पनि आफूलाई वरियताको आधारमा जिम्मेवारी नदिएको बताउनुभयो । कानुनअनुसार सबै कार्यालयहरुमा माथिल्लो तहकै प्रमुख हुने भए पनि त्यसो नभएको उहाँले बताउनुभयो । योग्यता क्रममा कनिष्ठको मातहत काम गर्न सहज नभएको उहाँले बताउनुभयो ।