हेटौँडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले मकवानपुर जिल्ला उसु संघलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । आइतबार खेलकुद विकास समितिको कार्यालय परिसरमा उसु संघका अध्यक्ष ज्योति रत्न बज्राचार्यसहित पदाधिकारीको उपस्थितिमा समितिका अध्यक्ष वेश खड्कीले खेल सामग्री हस्तान्तरण गर्नु भएको हो ।
३० हजार रुपैयाँ बराबरको ग्लोब्स, किकप्याड, पन्चिङप्याड, माकिबारा, ग्रोइङ गार्ड, स्किपरो हस्तान्तरण गरिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीले खेलकुदको विकासका लागि आफूले योजना बनाएको र खेलकुद संघहरुलाई खेल सामग्री दिएर नियमित प्रशिक्षणका लागि प्रेरित गरेको बताउनुभयो । वार्षिक योजना बनाएर खेलकुद गतिविधि आयोजना गर्ने तयारी भइरहेको जानकारी गराउनु हुँदै अध्यक्ष खड्कीले जिल्लामा रहेका खेलकुद संघलाई पुनर्गठन गर्ने कार्य भइरहेको बताउनुभयो । खेलकुद संघसँगको सल्लाहमा वार्षिक योजना बनाइरहेको पनि उहाँले जानकारी दिनुभएको छ ।
उसु संघका अध्यक्ष ज्योतिरत्न बज्राचार्यले पहिलो पटक संघले खेलकुद विकास समितिबाट खेल सामग्री प्राप्त गरेको उल्लेख गर्नुहुँदै संघलाई स्वतःस्फूर्तरुपमा खेल सामग्री वितरण गर्ने कार्य सराहनीय भएको बताउनुभयो । खेलकुद विकास समितिले उसु खेलको विकासका लागि देखाएको चासो र प्रदान गरेको सहयोगले संघलाई सक्रिय हुन प्रेरित गरेको पनि बताउनुभयो । उसु खेलका प्रशिक्षक विमल थापा मगरले नियमितरुपमा उसु खेलको प्रशिक्षणमा १५ जना खेलाडी सहभागी हुने गरेको बताउनुभयो । उसु खेलको विकासका लागि विद्यालय तहमै प्रशिक्षण सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।