नेपालमा धेरै चाडपर्वहरु मनाइन्छ । यिनै चाडपर्वहरुमध्ये आज बिहीबार जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने हिन्दू धर्मावलम्बीहरुको पवित्र चाड जनैपूर्णिमा अर्थात् ऋषितर्पणी आज मनाइँदैछ । यो चाडमा नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरी मनाउने गरिन्छ । वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले यस चाडलाई विशेषरुपमा मनाउने गर्दछन् । तागाधारीहरुले यस दिन बिहान नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरु पुरोहितबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने चलन रहेको छ । हिन्दू धर्मशास्त्रअनुसार जनैलाई ब्रम्हासूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रम्हा, बिष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।

आजकै दिन विशेषगरी तराई क्षेत्रमा रक्षाबन्धन (राखी) बाँध्ने चलन छ । यो परम्परा भारतमा बढी प्रचलित भए पनि भारतसँग सीमा जोडिएको र भाषा, संस्कृति मिल्दोजुल्दो भएका कारण नेपालको तराई क्षेत्रमा पनि राखी बाँध्ने प्रचलन भित्रिएको मान्न सकिन्छ । दिदीबहिनीले आफ्ना दाजुभाइका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधिदिने चलन पछिल्लो समय पहाडी क्षेत्रमा पनि व्यापक बनिरहेको छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्रकृष्ण प्रतिपदाको दिन मनाइने गाईजात्रा पर्व पनि यसवर्ष जनैपूर्णिमाकै दिन मनाउन पञ्चाङ्ग निर्णायक समितिले आग्रह गरेको छ । यस वर्ष तिथि घटबढ भएका कारण जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व एकै दिन मनाउनुपर्ने समितिको भनाइ छ । भाद्र शुक्ल पूर्णिमा तिथि बुधबारबाटै सुरु हुने र आज बिहीबार बिहानबाट प्रतिपदा तिथि सुरु हुने भएका कारण यसवर्ष धेरैमा जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउने सबालमा अन्योल बनाएको छ । यसलाई पञ्चाङ्ग निर्णायक समितिले जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा बिहीबार एकै दिन मनाउनुपर्ने प्रष्ट पारेको भए पनि कतिपय समुदाय र स्थानमा जनैपूर्णिमा बुधबार नै मनाइएको छ भने गाईजात्रा शुक्रबार मनाउने तयारी भइरहेको छ ।

चाडपर्व हामी नेपालीको मौलिक पहिचान हो । कुनै धर्म, संस्कृति, जाति, स्थान विशेषमा आधारित भए पनि हाम्रा सबै चाडपर्वको आ–आफ्नै मूल्य, मान्यता र मौलिकता छ । जनैपूर्णिमालाई तागाधारीले जनै धारण गरेर मनाउने गरे पनि रक्षाबन्धन वा राखी बाँध्ने प्रचलन सबैजसो जाति र धर्ममा पाइन्छ । यस दिन विभिन्न नौ प्रकारका गेडागुडी मिसाएर पकाइएको क्वाँटी खाने चलन पनि हाम्रा चाडपर्वको मौलिक विशेषताभित्र पर्दछ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षातका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । नेवारी समुदायले भने यस दिनलाई ‘गुन्हु पुन्ही’को रुपमा मनाउने गरिन्छ ।

नेपाल बहुजाति, बहुभाषी, बहुसंस्कृति, बहुधार्मिक विचार र सांस्कृतिक विविधता भएको देश हो । नेपालमा विभिन्न जातजातिका आ–आफ्नै परम्परा र संस्कारअनुरुप विभिन्न चाडपर्व मनाइने गरिन्छ । हामी नेपाली रीतिरिवाज र संस्कृतिले सम्पन्न छौं । वर्षात् सकिएर शरद ऋतु प्रवेशसँगै हाम्रा प्रमुख चाडपर्वहरु मनाइन्छ । पछिल्लो समय नेपालीहरुको चाडपर्व मनाउने परम्परामा परिवर्तन आउँदै गएको छ । जाति, समुदाय तथा भौगोलिक क्षेत्रमा सिमित बन्ने गरेका विभिन्न चाडपर्वले व्यापकता पाउन थालेको छ । कुनै जाति, समुदाय र क्षेत्रविशेषको चाडपर्वमा अर्काे जाति, समुदाय र क्षेत्रका व्यक्तिहरुको सहभागितामात्रै होइन, ती पर्वहरुको अनुकरण गर्ने कुरामा पनि तीब्रता आइरहेको छ । एउटा समुदायको परम्परा, संस्कृति र उसले मनाउने चाडपर्वमा अर्को समुदायको सहभागिताले सामाजिक सद्भाव वृद्धि गर्न र सामाजिक एकता कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेल्दछ । तर नक्कल र आडम्बर युक्त व्यवहारको चपेटामा चाडपर्वको मौलिकता र सकारात्मक पक्ष ओझेलमा पर्ने सम्भावना बढेको छ ।