सुत्केरीलाई पोषण सामग्रीरुप कुखुराको भाले हस्तान्तरण गर्नुहुँदै वडा अध्यक्ष तिमल्सिना ।

हेटौँडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिनाले सुत्केरीलाई पोषण बाँड्ने आफ्नो अभियान अनुसार शनिबार पनि एक सुत्केरी महिलालाई पोषण सामग्री वितरण गर्नुभएको छ । वडाध्यक्ष तिमल्सिनाले शनिबार वडाको ठोटरे खोलाकी सुत्केरी जमुना न्यासुर दोङलाई पोषण सामग्री वितरण गर्नुभएको हो ।

दोङ १५ दिन अघि सुत्केरी भएकी थिइन् । अस्पतालमा उपचारपछि डिस्चार्ज भएकी दोङलाई शनिबार वडाध्यक्ष तिमल्सिनाले घरमै पुगेर ५ हजार रुपैयाँ बराबरको पोषण सामग्री वितरण गर्नुभएको हो । एक महिना अगाडि पनि वडाध्यक्ष तिमल्सिनाले वडाभित्रका एक सुत्केरी महिलालाई पोषण सामग्री वितरण गर्नुभएको थियो ।

सुत्केरी अवस्थामा पौष्टिक आहारको आवश्यकता देखिएपछि आफुले यो अभियानलाई सुरु गरेको उहाँले बताउनुभयो । वडाभित्रका केही परिवार आर्थिक अवस्थाका कारण सुत्केरी अवस्थामा पनि पोषणका सामग्री किन्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आफुले केही भएपनि राहत होस् भनेर व्यक्तिगत खर्चबाट पोषण सामग्री वितरण गरेको उहाँले बताउनुभयो । वडाभित्रका २ जना सुत्केरी महिलालाई केही दिनमै पोषण सामग्री वितरण गरिने उहाँले बताउनुभयो । उहाँले यो वर्ष वडाभित्रका सम्पूर्ण सुत्केरी महिलाहरुलाई आफ्नो व्यक्तिगत खर्चमा पोषण सामग्री वितरण गरिने बताउनुभयो । वडामा वार्षिक ५० जनाभन्दा बढी संख्यामा सुत्केरी हुने गरेको उहाँको भनाई छ ।

सुत्केरी भएका हरेक महिलाहरुलाई लोकल कुखुरा, चामल, तोरीको तेल, विभिन्न मसलाहरु र सरसफाइका सामग्री वितरण गरिएको छ । सुत्केरी भएको सम्बन्धित परिवारको सदस्यले आफुलाई जानकारी गराएमा आफु घरमै पुगेर पोषणका सामग्री वितरण गरिने उहाँले बताउनुभयो ।