मुलुकले नै अनुकरण गर्न सक्ने गरी शिक्षा, समाज र साहित्यमा योगदान गर्नुभएका मकवानपुरका गहना आदरणीय तुल्सी थापाको भदौ ८ गते बिहिबार निधन भयो । तुल्सी सरले आफ्नो जीवन सार्थक तुल्याउनुभयो, धेरै ज्ञात, अज्ञात व्यक्तिले तुल्सी सरबाट ज्ञान, सीप, शिक्षा प्राप्त गर्नुभयो । उहाँले आफूले बाँच्नुभएको जीवनमा कुनै इच्छा बाँकी रहेन होला सायद । तुल्सी सरका रहर र आकांक्षा कुनै अपुरा रहे भन्ने मैले महसुस भएको छैन । तर, उहाँको एउटा इच्छा भने अधुरै रह्यो । भोलिका दिनमा हामीले उहाँको इच्छा पूरा गरौँला । उहाँको इच्छा पूरा भएको उहाँले नै थाहा पाउने अवस्था नहुनु दुखद् हो ।
लोककवि गणेशलाल श्रेष्ठको प्रतिमा भीमफेदीमा स्थापित गर्ने तुल्सी थापा सरको इच्छा थियो । मकवानपुर जिल्लाको पुरानो सदरमुकाम सुन्दर भीमफेदीमा भीमफेदीकै लोककवि स्व. गणेशलाल श्रेष्ठको प्रतिमा स्थापित गर्न खोज्दा अन्तिम दिन एक किसिमको अवरोध रह्यो । भीमफेदी बजारस्थित ज्योति पुस्तकालय परिसरमा स्व. श्रेष्ठको प्रतिमा अनवारण गर्ने तय भएको अघिल्लो रात प्रतिमा चोरी भयो । के कारणले स्व. श्रेष्ठको प्रतिमा चोरी भयो भन्ने थाहा हुन सकेन । तर, केहीदिन पछि स्व. श्रेष्ठको प्रतिमा प्रहरीले खोजी गर्न सफल भयो ।
पूर्वनिर्धारित समयमा प्रतिमा अनावरण गर्न नसके पनि पुनः स्व. श्रेष्ठको प्रतिमा भीमफेदीको ज्योति पुस्तकालय परिसरमा पुनस्र्थापित गर्ने इच्छा तुल्सी सरको थियो । शुक्रबार तुल्सी सरको निधन भएसँगै लोककवि गणेशलाल श्रेष्ठको प्रतिमा पुनःस्थापित गर्ने सपना अधुरै रह्यो । मकवानपुरको पुरानो ऐतिहासिक शहर तथा पुरानो सदरमुकाम भीमफेदीमा जन्मनु भएका गणेशलाल श्रेष्ठ मकवानपुरका पहिलो श्रष्टा, गीतकार, संगीतकार, हास्यव्यङ्ग्यकार तथा लोक साहित्य परिषद्बाट लोककविको उपाधि प्राप्त बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो । २०११ सालको बाढिपहिरो भन्दा अगाडिको भीमफेदी बजार देशको चारैतिरबाट र बिदेशबाट समेत नेपाल आउ–जाउ गर्ने मुल प्रवेशद्वार थियो ।
आर्थिक सामाजिक साँस्कृतिक साथै धार्मिक रुपले समेत सवल र सक्षम बजार थियो भीमफेदी बजार । त्यो पृष्ठभूमिमा लोककवि गणेशलाल श्रेष्ठको साहित्यिक, साँस्कृतिक र धार्मिक भूमिका पनि महत्वपूर्ण थियोे । लोककविको २०६८ श्रावण ५ मा एक सय वर्ष पुगेको सतवार्षिक समारोहका प्रमुख व्यक्तित्व तथा सभापति तुल्सी थापा सर हुनुहुन्थ्यो । उहाँकै अगुवाइमा हेटौँडा, काठमाडौं, पोखरा, भीमफेदी लगायतका ठाउँहरुमा शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाल कला तथा संस्कृति प्रतिष्ठानका कुलपति अम्बर गुरुङ, वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, परराष्ट्रविद् तथा लेखक हिरण्यलाल श्रेष्ठ लगायत लब्धप्रतिष्ठित व्यक्तिहरु सम्मिलित गराई सप्ताहव्यापी सतवार्षिकी समारोह भव्यरुपमा सम्पन्न भएको थियोे ।
मकवानपुरका साथै साहित्यिक जगतका व्यक्तिहरुले गोरब मान्ने लोकप्रिय कवि गणेश लालको उहाँ जन्मेको हुर्केको र योगदान पु¥याएको स्थानमै प्रतिमा स्थापना होस् भन्ने चाहना तुल्सी थापा सर लगायत हामी सबै मकवानपुरबासीको पनि थियो । प्रतिमा स्थापना गर्नेक्रममा थापा सर लगायत हामीले भीमफेदी गाउँपालिकाका अध्यक्ष ज्यु लगायतका व्यक्तिहरुसँग सम्बन्ध राख्दै तात्कालिन वडा अध्यक्षबाट शिलान्यास गरायौं । शिलास्तम्भ निर्माण सम्पन्न गरी प्रतिमा अनावरण गर्न लेखक, परराष्ट्रविद् सम्मानित व्यक्तित्व हिरण्यलाल श्रेष्ठलाई निम्त्यायौं । भव्य समारोहका साथ अनावरण हुने बिहान चारैतिरबाट जम्मा भएका व्यक्तिहरु त्यही रात प्रतिमा चोरी भएको थाहा पाएर खिन्न मन लिएर आ–आफ्नो स्थानमा फर्कनु पर्यो । हामीले मूर्ति खोजी गर्न र चोरी गर्नेलाई कारबाही गर्न इलाका प्रहरी कार्यालय भीमफेदीलाई अनुरोध गर्यो । प्रहरीले खोजी गरी प्रतिमा त फेला पार्यो तर चोर पत्ता लगाएन । एउटा सर्वमान्य प्रतिभाको प्रतिमा भीमफेदी थानाको अँध्यारो कोठा भित्र धुलो लागेर कैदीको रुपमा राखिएको छ ।
केही व्यक्तिको अवरोधका साथै राजनीतिक खिचातानीका कारण त्यस स्थानमा मूर्ति पुनस्र्थापना हुन सकेको छैन । हामीले भीमफेदी गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्षलाई लोककविको प्रतिमा पुनस्र्थापना गर्न सक्ने भए स्थापना गर्न र नसक्ने भए भीमफेदीदेखि अन्यत्र लैजान अनुमति दिन अनुनय विनय गर्दै आए पनि केही अबाञ्छित व्यक्तिको अवरोधका कारण जवाफ दिनबाट पन्छिनु भएको छ । लोककवि सतवार्षिकी समारोहका आदरणीय सभापति थापा सर उहाँको अनन्त यात्रा हुनु केही महिना अगाडिसम्म पनि लोककविको प्रतिमा पुनस्र्थापित गर्नुपर्ने बारे चिन्तित हुनुहुन्थ्यो । अन्ततः कुनै विवादै हुनु नपर्ने नेपाली, नेवारी र तामाङ भाषामा समेत कलम चलाउने, गीत लेख्ने, साँस्कृतिक र धार्मिक व्यक्तित्व लोककविलाई केहि अबाञ्छित व्यक्तिका कारण जन्मेकै ठाउँमा अपहेलित भएर अनिर्णयको बन्दी बन्नु परेको छ भने थापा सरको सपना पनि अधुरै हुन गयो । थापा सरको अवसानपछि हामी मकवानपुरबासीले अर्को एउटा जाज्वल्यमान साहित्यिक र शैक्षिक नक्षत्र गुमाउनु पर्यो । यतिबेला हामी उहाँको अवसानमा शोकाकुल छौं ।