हेटौँडाः साहित्यकार तुल्सी थापाको निधन भएको छ । ७८ वर्षको उमेरमा शुक्रबार बिहान चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । थापालाई निमोनिया, मधुमेह, रक्तचापसम्बन्धी समस्या थियो ।
साहित्यकार निमेष निखिलका अनुसार थापाको पार्थिव शरीर हेटौँडा ल्याएर अन्तिम संस्कार गर्ने तयारी परिवारले गरेका छन् । मुटुसम्बन्धी समस्या भएका कारण पेस मेकर समेत जडान गरिएकोले पेस मेकर निकाल्न केही समय लाग्नेछ । शिक्षण पेशाबाट निवृत्त हुनुभएपछि थापाले साहित्य रचनामा विशेष योगदान दिनुभएको छ ।
थापाको दाना कविता संग्रह “एक निमेष अनन्तको (२०५८)”, “अमर सिंहको खोजीमा अमर सिंह नाटक (२०६१)” र कथासंग्रह “फरक आकाश (२०७२)” प्रकाशित छन् । थापाले कविता विधामा नयाँ दाना कविताको सुरुवात समेत गर्नुभएको छ । थापा भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्मय पुुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गर्नुभएको छ ।