नवउद्यम कार्यशाला आयोजना सम्बन्धमा जानकारी गराउनुहुँदै अध्यक्ष प्याकुरेल ।

हेटौँडाः उद्यम तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग संघ मकवानपुरले नवउद्यम कार्यशालाको आयोजना गर्ने भएको छ । उद्यम तथा व्यवसाय प्रवद्र्धन केन्द्र (इन्कुवेशन सेन्टर) स्थापना गरेको संघले असोज तेस्रो साता नवउद्यम कार्यशालाको आयोजना गर्ने जनाएको छ । कार्यशालामा सहभागी हुन इच्छुक उद्यमी, व्यवसायीलाई बिहिबारदेखि आवेदन फारम खुला गरिएको उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले जानकारी दिनुभएको छ ।

नयाँ किसिमको उद्यम, व्यवसायमा नयाँ पुस्तालाई आकर्षित गर्नुका साथै पुरानै उद्यम, व्यवसायलाई नयाँ र प्रभावकारी शैलीमा सञ्चालन गर्ने योजनामा रहेकाहरुलाई कार्यशालामा सहभागी हुन आव्हान गरिएको छ । बिहिबार उद्योग संघ मकवानपुरको कार्यालयमा पत्रकार सम्मेलन गरेर नवउद्यम कार्यशालाको विषयमा जानकारी गराएको छ । प्रभावकारी उद्यम, व्यवसायका विषयमा ४ दिन विज्ञहरुको सहजीकरणमा कार्यशाला आयोजना गर्ने र पाँचौ दिन नवउद्यमी हाटबजार सञ्चालन गरिने अध्यक्ष प्याकुरेलले जानकारी दिनुभएको छ ।

उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष लेखराज पोखरेलको संयोजकत्वमा नवउद्यम कार्यशालाको आयोजना गर्न लागिएको हो । कार्यक्रम संयोजक पोखरेलले कार्यशालामा उद्यम, व्यवसायको अवधारणा, अवधारणाको कार्यान्वयन, वस्तु वा सेवाको बजारीकरण, प्रविधि र उपकरणको प्रयोग, प्रवद्र्धनको शैलीका विषयमा कार्यशाला केन्द्रित हुने संयोजक पोखरेलको भनाइ छ । कार्यशालापछि सञ्चालन गरिने नवउद्यमी हाटबजारमा सरोकारवालालाई अवलोकन गराइने जानकारी दिनुहुँदै पोखरेलले भन्नुभयो, “उद्यम, व्यवसायमा लाग्न चाहने नयाँ पुस्तालाई प्रशिक्षित गर्नुका साथै उद्यम, व्यवसायमा लगानी गर्न सक्ने समूहलाई नवउद्यमी, व्यवसायीको उद्यम, व्यवसायमा लगानी गर्न पनि हामी प्रेरित गर्नेछौं ।”

उद्योगीले नै आफ्ना नयाँ पुस्तालाई उद्यममा जोड्न नसकिरहेको जीकिर गर्नुहुँदै अध्यक्ष प्याकुरेलले नयाँ पुस्तालाई उद्यममा जोड्ने प्रयास गरिएको बताउनुभयो । नवउद्यम कार्यशाला आयोजनाका लागि उद्योग संघ मकवानपुरले बागमती प्रदेश सरकारमातहतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र अन्तरप्रेरणासँग सहकार्य गरेको छ । निर्देशनालयसँग केही बजेट प्राप्त भएको र अन्तरप्रेरणा आफैंमा नवउद्यम प्रवद्र्धनमा सहजीकरण गर्ने संस्था भएको अध्यक्ष प्याकुरेलले बताउनुभएको छ ।

नवउद्यम कार्यशालामा साना तथा मझौला, घरेलु उद्यमका साथै १ वर्षदेखि ५ वर्ष सञ्चालन अवधिका नवीन सोँचका व्यवसाय गर्न चाहने व्यक्ति सहभागी हुन सक्नेछन् । अनलाइनमार्फत भदौ २३ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । कार्यशालामा बढीमा २० वटा अवधारणालाई निशूल्क सहभागी गराइने बताइएको छ । कार्यशालाका लागि ३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष प्याकुरेलले बताउनुभयो । संघीय सरकारले गत आर्थिक वर्षमा सातै प्रदेशमा उद्यम तथा व्यवसाय प्रवद्र्धन केन्द्र स्थापनाका लागि २६ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि कार्यान्वयन गर्न नसकेको जानकारी गराउनुहुँदै सरकारसँगको सहकार्यमै उद्योग संघले उद्यम तथा व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरी कार्यशालाको आयोजना गर्न लागिएको अध्यक्ष प्याकुरेलले स्पष्ट पार्नुभयो ।