गुगल तस्विर ।

हेटौँडाः बुधबार राती मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाई मन्दिर नजिकै दुर्घटनामा परी मृत्यु भएका भारतीय नागरिकको शव भारततर्फ पठाइएको छ । भारतीय दूतावासमार्फत भारतीय नागरिकको शव भारत पठाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ । दुर्घटनामा परी मृत्यु भएका महोत्तरीका एकजनाको शव भने हेटौँडा अस्पतालमै छ ।

बुधबार राती साढे २ बजेको समयमा काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा महोत्तरी जिल्लाको लोहारपट्टि बस्ने ४१ वर्षीय विजय लाल पण्डितसहित भारतीय नागरिक भारत राजस्थानका बहादुर सिंह, मिरा देवी, श्रीकान्त चतुर्वेदी, सत्यवती, राजेन्द्र चतुर्वेदी र वैजनती देवीको मृत्यु भएको थियो । उनीहरू ६० वर्षदेखि ७० वर्ष उमेर समूहका रहेका छन् ।

दुर्घटनामा परी १७ जना घाइते भएका थिए । घाइते मध्ये ४ जनाको चितवनमा उपचार भइरहेको छ भने ११ जनाको हेटौँडामा उपचार भइरहेको छ । २ जना भने डिस्चार्ज भइसकेका छन् । प्रहरीले जनकपुर–७ का जिलामी खानसहित उनका सहयोगी सहचालक अन्य २ जना गरी ३ जनालाई जनकपुरबाट घाइते अवस्थामा नियन्त्रणमा लिएको छ ।