खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले बिहिबार जारी गरेको विज्ञप्ति ।

हेटौँडाः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले हेटौँडा–४, कान्तिराजपथस्थित चन्दन स्वीट्स एण्ड बेकरीलाई व्यवसाय गर्न फुकुवा गरेको छ । गत सोमबार अनुगमनको क्रममा मिठाई तथा खाद्य वस्तु उत्पादन तथा बिक्री वितरणमा सरसफाई कायम नगरेको भनी उत्पादन तथा बिक्री वितरणमा कार्यालयले रोक लगाएको थियो ।

कार्यालयले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै चन्दन स्वीट्सलाई उत्पादन तथा बिक्री वितरणका लागि फुकुवा गरेको जनाएको छ । खाद्य अनुसन्धान अधिकृत प्रगति अधिकारीले बिहिबार एक विज्ञप्ति जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कारवाही फुकुवा गरिएको जानकारी गराएको छ । स्थानीय प्रशासन, प्रहरी, स्थानीय सरकारका प्रतिनिधिको समेत उपस्थितिमा खाद्य प्रविधिको नेतृत्वमा भएको अनुगमनका क्रममा दिइएको सुझावअनुसार चन्दन स्वीट्सले आवश्यक सुधार गरेको बताइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आइतबारदेखि बजार अनुगमन सुरु गरेको थियो ।