बुधबार श्रमिक माविको पुस्तकालयमा अध्ययन गर्दै विद्यार्थी ।

हेटौँडाः बुधबार दिउँसो २ बजे हेटौँडा–४, कर्रास्थित श्रमिक मावि परिसरमा ९ कक्षाका विद्यार्थीको समूह खुसीहुँदै कक्षाकोठाबाट पुस्तकालयतर्फ दौडँदै थिए । पुस्तकालयमा आफूले रोजेको पुस्तक पढ्न पाउने भएकोले विद्यार्थी खुसी देखिन्थे । विद्यालयले हरेक दिन हाफ टाइमपछि विद्यार्थीलाई पुस्तकालयमा पढ्ने व्यवस्था मिलाएको छ ।

एउटा कक्षाका विद्यार्थीले सातामा एक दिन पुस्तकालय जाने अवसर पाउँछन् । संघीय सरकारको साढे ६ लाख रुपैयाँ बजेटबाट करिब ३ हजार पुस्तक खरिद गरिएको छ भने पुराना करिब एक हजार पुस्तक गरी ४ हजारभन्दा बढी पुस्तक पुस्तकालयमा रहेको पुस्तकालयका प्रमुख भीम कुमार पाठकले जानकारी दिनुभयो । विद्यार्थीले आफूले रोजेर, खोजेर पुस्तक पढ्न पाउने भएपछि खुसी हुँदै पुस्तकालय आउने गरेको पाठक बताउनुहुन्छ ।

वर्षे बिदापछि पुस्तकालयलाई व्यवस्थित बनाउने प्रयास भइरहेको प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभयो । पुस्तकालय व्यवस्थापनकै लागि शिक्षक भीम कुमार पाठकलाई दिनको ३ वटा कक्षा मात्रै पढाउने जिम्मेवारी दिइएको छ । यसअघि दैनिक ५ देखि ६ वटा कक्षा पढाउनुहुने पाठक अहिले हरेक दिन हाफ टाइमपछि पुस्तकालयमा व्यस्त हुनुहुन्छ ।

विद्यार्थीमा पठन संस्कृतिको विकासका लागि विद्यालयले पुस्तकालयको प्रयोगमा जोड दिइरहेको प्रधानाध्यापक दाहाल बताउनुहुन्छ । पुस्तकालयमा शान्त भएर पढ्न विद्यार्थीलाई सिकाउने गरिएको छ । विद्यार्थीले पढेको पुस्तक र सिके, बुझेका विषयमा हरेक दिन प्रार्थनाको समयमा माइकमा बताउनुपर्ने व्यवस्था पनि गरिएको प्रधानाध्यापक दाहालले जानकारी दिनुभयो । विद्यार्थीलाई पढ्ने, बुझ्ने र बताउने अभ्यासमा प्रेरित गरिएको उहाँको भनाइ छ । पुस्तकालयका पुस्तक विद्यार्थीले घरै लगेर पढ्न चाहे एक साताका लागि पठाउने गरिएको पुस्तकालय प्रमुख पाठक बताउनुहुन्छ ।