विद्यार्थीलाई जिवनोपयोगी शिक्षाअन्तर्गत प्राथमिक उपचारसम्बन्धी जानकारी गराउनुहुँदै डा. राम थापा ।

हेटौँडाः मनहरी गाउँपालिकाको आयोजनामा मनहरी–४ स्थित पशुपतिनाथ माविका विद्यार्थीलाई जीवनोपयोगी स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । विद्यालयमा सञ्चालन गरिएको विस्तृत स्वास्थ्य कार्यक्रममा हेटौँडा अस्पतालका व्यवस्थापक डा. राम थापा क्षेत्रीले सहजीकरण गर्नुभएको थियो ।

१ कक्षादेखि १० कक्षासम्मका करिव ५ सय विद्यार्थीलाई जीवनोपयोगी स्वास्थ्य शिक्षा, सीप र जनचेतनामूलक सामूहिक कक्षा संचालन गरिएको हो । गाउँघरमा कुकुरले टोक्दा रेबिज बिरुद्धको खोप अनिवार्य लगाउनुपर्ने, करेन्ट लाग्दा, पानीमा डुब्दा, सर्पले टोक्दा गर्नुपर्ने प्राथमिक उपचार पद्दति, सडक सुरक्षा, अग्निजन्य दुर्घटना, व्यक्तिगत सरसफाई, आँखा पाक्ने प्रकोप, डेङ्गु आदिका बारेमा विद्यार्थीलाई जीवनोपयोगी ज्ञान दिइएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतम, प्रधानाध्यापक भानुभक्त आचार्य, सहायक प्रधानाध्यापक सुशील गौतमलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक प्रतिनिधि ईश्वर रिजालले सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रम मनहरी–३ को महेन्द्रज्योति माविमा पनि आयोजना गरिएको थियो ।