हेटौँडाः मकवानपुरगढी–८, बुढीचौरस्थित एकता स्वाबलम्बन कृषि सहकारी संस्थाले २०७९ पुस १ गतेबाट दुध संकलन शुरुवात गर्दा पहिलो दिन ६० लिटर दुध संकलन गरेको थियो । दुध संकलन शुरुवातसँगै सहकारी संस्थाको अग्रसरता र गाउँपालिकाको सहजीकरणमा गाई/भैंसी पाल्ने कृषकहरुको संख्या बढ्दै गयो । हाल दैनिकरुपमा विहान बेलुका गरी एक हजार लिटर दुध संकलन भइरहेको पशु सेवा प्राविधिक कर्ण बहादुर बिकले जानकारी दिनुभयो ।
दुध संकलन शुरु हुनुभन्दा पहिले ४/५ कृषक परिवारले घरायसी प्रयोजनका लागि मात्र गाई/भैंसी पालिरहेकोमा अहिले ६८ कृषक परिवार पशुपालनमा संलग्न रहेका छन् । जसमा ५८ वटा गाई र १७ वटा भैंसी रहेका छन् । क्रमशः पशुपालन गर्ने कृषक र पशुको संख्यामा वृद्धि भइरहेको सहकारीका सचिव अजय योञ्जनले बताउनुभयो । कृषकहरुलाई पशुपालनले दुध उत्पादनबाट आम्दानी वृद्धिसँगै खेतीका लागि गोठे÷गोबर मल पनि गाउँमै उपलब्ध हुन थालेको छ । यसले खेतीको लागत समेत घटाउन मद्दत पु¥याएको सहकारीका अध्यक्ष बालानन्द तिमल्सिना बताउनुहुन्छ । बुढीचौरका किसानले खेतीका लागि अन्यत्रबाट महँगो मूल्य तिरेर गोठे मल ल्याउने क्रम हट्दै गएको उहाँको भनाइ छ ।
कृषकहरुसँगको छलफलमा उनीहरुको मिहिनेत र लगनशीलतालाई उच्च कदर गर्दै गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उत्पादनमुखी योजनालाई पालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । यस वर्ष बुढीचौरको तरकारी उत्पादनलाई मध्यनजर गर्दै इचुङ र सुकौरा हुँदै हेटौँडासम्म दैनिकरुपमा सवारी साधन आवतजावत गर्न सक्ने वातावरण मिलाइएको उहाँले बताउनुभयो । अगामी दिनमा संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी कृषिको क्षेत्रमा लगानी आकर्षित गर्न प्रयास गरिने अध्यक्ष स्याङ्तानले बताउनुभएको छ ।