वनविज्ञान क्याम्पस परिसरको जंगलमा देखिएको हरिणको बथान । तस्वीरः शैलेश मानन्धर ।

हेटौँडा एक सुन्दर नगर हो । यसमा कुनै पनि सन्देह छैन । अहिले त झन् बागमती प्रदेशको राजधानी भएकोले गर्वित महसुस हुन्छ । हेटौँडा एक दुन हो जहाँ दक्षिणमा चुरे पहाड उत्तरमा महाभारत पर्वतले शितलता दिइरहेको छ भने सुन्दर राप्ती नदी र कर्रा खोलाले सिञ्चित गरेको छ । तर हेटौँडाको मुटुमा अवस्थित वन विज्ञान अध्ययन संस्थानको घना वन क्षयीकरण हुँदै गएको अनुभव हुन्छ । कुनै समय धेरै प्रजातिका रुखले ढाकेको वन अहिले खण्डीकृत हुँदै क्षयीकरणतर्फ उन्मुख भएको भान हुन्छ ।

सरोज राई

वन भन्ने बित्तिक्कै रुखहरुले ढाकेको क्षेत्र मानिन्छ । जनसंख्याको बढ्दो चाप, ध्वनि प्रदुषण र वायु प्रदुषणलाई न्युनीकरण गर्न मद्दत गर्दछ र यसको सुक्ष्म जलवायुले तापमानलाई घटाउने काम गर्दछ । यहि वनले गर्दा हेटौँडाका वन वरिपरिका वस्तीहरुको तापमान बृद्धि हुन दिँदैन ।

यसै सन्दर्भमा दुई किसिमको सिद्धान्तहरु उल्लेख गर्न उपयुक्त होला ।

१) कमजोर दिगोपनाः यस सिद्धान्तका अनुसार संसारका जुनसुकै प्राकृतिक श्रोतहरुलाई मानवीय श्रोतले सट्टा भर्ना गर्न सक्छ । उदाहरणका लागि प्राकृतिक श्रोत व्यवस्थापन र त्यसको दिगोपना कायम गर्न नसके नाउरु भन्ने देश जुन दक्षिणी गोलार्धको न्युजिल्याण्ड छेउको देशको जस्तो हुन्छ । सन् १९०० मा नाउरु टापुमा फोस्फेटको खानी पत्ता लाग्यो र त्यो फोस्फेट त्यतिखेरको संसारलाई अन्न उव्जनि गर्नका लागि मलको रुपमा प्रयोग हुँदै थियो । त्यहाँका अधिकांश क्षेत्र उत्खनन् गरेर उर्वर भूमि पनि तहस–नहस भयो । त्यहाँका नागरिकसँग धन, सम्पत्ति त टन्नै आर्जन भयो तर उर्वर जग्गा भने रहेन ।

२) बलियो दिगोपनाः यस सिद्धान्त अनुसार संसारको जुनसुकै प्राकृतिक श्रोत सहायक हुन सक्छ । त्यसको बदलामा अर्को बस्तुले परिपूर्ति गर्न सक्दैन । उदाहरणका लागि वायुमण्डलमा रहेको ओजोन तहलाई मानवीय श्रोतले पुरताल गर्न सक्दैन । यसरी नै प्रयोगको हिसाबले काठको ठाउँमा आल्मुनियम, फलाम, स्टिल भए तापनि काठको महत्व वातावरणीय र पर्यावरणीय तवरले वातावरण अनुकुलित मानिन्छ । गाईबस्तुलाई घाँसको सट्टामा पोषक दाना त होला तर घाँसको महत्व अभिन्न छ ।

वनबाट सामान्यतय वस्तु र सेवा उपलव्ध हुन्छ । वस्तु भन्नाले काठ, दाउरा, घाँस, सोत्तर आदि भने सेवा भन्नाले वायुको गुणमा अब्बलता, पानीको सतह उच्च राख्न मद्दत, वायु प्रदुषणलाई सोस्ने काम, धुलो–धुँवा, रुखको पातमा टाँसेर घटाउने काम, सुन्दरता र पर्यावरणीय हिसाबले जैविक विविधता संरक्षण गर्दै पारिस्थितिकीय प्रणालीलाई चलायमान बनाउन मद्दत गर्दछ ।

यस प्रकारले वनलाई बुझियो भने वृक्षरोपण र त्यसको जर्गेनामा दोव्वर मात्रामा बृद्धि भई हेटौँडाको फोक्सोको संरक्षण र सुरक्षा हुन्थ्यो कि ? यसमा सरोकारवाला निकाय, वुद्धिजिवि, शिक्षक र वनप्रेमिको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ । हेटौँडाको सौन्दर्यमा अझ बढि लाभ यहीँको नागरिकले प्राप्त गर्न सक्छ । (लेखकले वनविज्ञान विषयको स्नात्तकोत्तर उपाधि हासिल गर्नुभएको छ ।)