हेटौंडाः पछिलो २४ घण्टाको अवधिमा मकवानपुरमा ९ जनामा डेंगु पुष्टि भएको छ । मंगलबार स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा उपमहानगरपालिकाभित्रका ६ जनामा डेंगु देखिएको छ । यस्तै, मनहरी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका १ जनामा डेंगु पुष्टि भएको हो ।
मकवानपुरमा साउनयता २ सय ६ जनामा डेंगु देखिएको छ भने एक जनाको मृत्युसमेत भएको छ । डेंगु देएिकामध्ये हेटौंडाका मात्र १ सय ५१ जना रहेका छन् । हेटौंडा उपमहानगरपालिकाभित्र साउन महिनामा ७२ पुरुष र ६९ महिलामा डेंगु देखिएको स्वास्थ्य अधिकारी नवदीप सिलवालले जानकारी दिनुभयो ।
यस्तै, हेटौंडा अस्पतालमा पछिलो २४ घण्टामा ४० जनाले डेंगु जाँच गराएका छन् । डेंगु जाँच गराएका ४० जनामध्ये ३ जनामा डेंगु देखिएको छ । अस्पतालमा २ महिला र १ पुरुषमा डेंगु पुष्टि भएको हेटौंडा अस्पतालका प्रयोगशाला प्राविधिक राजकुमार शर्माले बताउनुभयो ।
हेटौंडा अस्पतालका चिकित्सक कमल दवाडीका अनुसार अहिलेसम्म डेंगु भयङ्कररुपमा देखिएको छैन । उनका अनुसार डेंगुबाट बच्न लामखुट्टेबाट बच्ने, पूरै जिउ छोप्ने कपडा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने र बाहिर निस्किनुपरेमा लामखुट्टेबाट बच्ने मल्हम लगाएरमात्र निस्किनुपर्ने बताउनुभएको छ । मानिसमा धेरै चहलपहल रहेका कारण पनि डेंगु बढेको हो ।
डेंगु जाँच गराउन आउने मानिसमा डर भएको, तर डरअनुसार डेंगु नभेटिएको डा. दवाडीले बताउनुभयो । गर्भवतीमा डेंगु देखिए अरुभन्दा धेरै खतरा हुन्छ । डेंगुका कारण बच्चाको गर्भपतनसमेत गर्नुपर्ने हुनसक्ने उहाँको भनाइ छ । डा. दवाडीका अनुसार गत वर्ष धेरैमा डेंगु देखिएको थियो, मानिसले बुझे भने यो वर्ष त्यति डेंगु नबढ्न सक्छ ।