हेटौंडाः मकवानपुर जिल्लामा ६ जना राष्ट्रिय र २ जना अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु क्रिकेट खेलमा आवद्ध रहेका छन् । अन्तर्राष्ट्रिय स्तरमा आवद्ध हुने खेलाडीहरु यु–१९ क्रिकेट प्रतियोगितामा अष्ट्रेलिया विश्व कप खेलेर विभिन्न प्रतियोगितामा सहभागी भएको र यु–१६ को राष्ट्रिय टिमबाट खेलेको मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महतरा क्षेत्रीले बताउनुभयो ।
मकवानपुर जिल्ला क्रिकेट खेलमा बागमती प्रदेशकै उत्कृष्ट जिल्ला भएकाले सबै खेलाडीहरुले आफ्नो जिल्लाको नाम उच्चस्तरमा पुर्याउने उद्देश्यले एकदमै अब्बल प्रतिक्रिया दिइरहेको उहाँले जानकारी दिनुभयो । मकवानपुर जिल्लामा क्रिकेट मैदानको अभाव भएका कारण हेटौंडा–४ मा रहेको हुप्रचौरलाई नै प्रशिक्षणस्थल बनाई विभिन्न प्रतियोगिता तथा प्रशिक्षण गराइरहेको कारणले खेलाडीहरुको संख्यामा कमी आएको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
मकवानपुर जिल्लालाई नेपालभर क्रिकेट खेलमार्फत् चिनाउने उद्देश्यले खेलाडीहरुलाई विभिन्न प्रतियोगिता तथा अभ्यास खेलमा सहभागी गराउँदै आएको क्रिकेट संघका सचिव विनोद बानियाँले बताउनुभयो । मैदानको अभाव भएता पनि खेलाडीहरुलाई जिल्ला–जिल्लाबीचको मैत्रीपूर्ण खेलहरुमा सहभागी गराउने, अन्य जिल्लामा भएको विभिन्न प्रतियोगितामा सहभागी गराउने गरेको र विगतमा विद्यालयस्तरीय, क्लबस्तरीय प्रतियोगिताहरु गराउँदै आइरहेको उहाँले बताउनुभयो ।
उत्कृष्ट खेलाडी बन्न अनुशासनको पालना गर्नुका साथै पौष्टिक आहारमा ध्यान दिनुपर्ने, नियमित तालिम तथा अभ्यास गर्नुपर्ने, व्यायाम आराम निद्रामा ध्यान दिनुपर्ने सचिव बानियाँले बताउनुभयो । जिल्लाभित्र क्रिकेट खेलको विकास गर्ने लक्ष्यसहित मकवानपुर जिल्ला क्रिकेट संघले स्कूलस्तरीय, क्याम्पसस्तरीय, क्लबस्तरीय प्रतियोगिता गराउने गरेको उहाँले जानकारी दिनुभयो ।
क्रिकेट खेलको विकास गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले केज निर्माणका लागि १० लाख तथा विभिन्न प्रतियोगिताका लागि ५ लाख बजेट बिनियोजन गरेको सचिव बानियाँले बताउनुभयो । स्थानीय सरकारले आर्थिक अवस्था कमजोर भएका खेलाडीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने, क्रिकेट खेलका लागि आवश्यक सामग्री सहयोग गर्ने, प्रशिक्षण तथा प्रतियोगिताको लागि आवश्यक सहयोग गर्ने र भौतिक पूर्वाधार निर्माण एवम् प्रशिक्षकको व्यवस्था गर्ने गरेमा खेलाडीहरुको अझ चाप बढ्ने उहाँले जानकारी दिनुभयो ।
यसवर्ष बागमती प्रदेश खेलकुद विकास परिषद्ले क्रिकेट रङ्गशाला निर्माणका लागि मन्त्रालयमार्फत् ४ करोड बजेट पाएको बताउनुहुँदै सो रकमले पिच तथा खेलमैदान निर्माण गर्न सचिव बानियाँले आग्रह गर्नुभएको छ ।