गुगल तस्विर ।

हेटौँडाः कुटपिटबाट घाइते भएकी मकवानपुरको बकैया गाउँपालिका–८, देउताखोलाकी ५१ वर्षीय जालीमाया घिसिङको मृत्यु भएको छ । गएको साउन २५ गते दिउँसो २ बजेको समयमा सोही ठाउँकी ४८ वर्षीय पातली माया भोलनको कुटपिटबाट घाइते घिसिङको गत बुधबार मृत्यु भएको हो ।

सामान्य विवादमा झगडा हुँदा घिसिङको टाउकोको भित्री भागमा चोट लागेको थियो । घाइते घिसिङलाई स्थानीय मेडिकलमा उपचार गराएरपछि डिस्चार्ज भएका थिए । साउन २८ गते वडाको न्यायिक समितिमा गएर उपचार खर्च कुटपिट गर्ने भोलनले व्यहोर्ने सहमति भएको थियो । साउन ३१ गते राती अचानक घिसिङ बेहोस भएका थिए । बेहोस भएकी घिसिङलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल ल्याइएकोमा थप उपचारका लागि टिचिङ अस्पताल काठमाडांै पठाइएको थियो । टिचिङ अस्पतालका चिकित्सकले उपचार सम्भव नहुने भनी जालीमायालाई घर फर्काएको थियो । घर ल्याउने क्रममा जालीमायाको बाटोमै मृत्यु भएको जनाएको छ ।

शुक्रबार साँझ ६ बजेर ३० मिनेटको समयमा प्रहरीलाई घटनाबारे खबर प्राप्त भएको थियो । घिसिङलाई कुटपिट गर्ने भोलनलाई शनिबार बिहान ८ बजे उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भोलनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ ।